विराटनगर । साना, मझौला तथा सबैखाले व्यवसायलाई आवश्यक परामर्श र सहयोग पु¥याउन विराटनगरमा व्यवसाय विकास सेवा केन्द्र स्थापना सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति, आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेड, उपाय बिजनेश सोलुशन र डाइनो टेक ग्लोबल प्रालिबीच बेग्लाबेग्लै सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौतामा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, आध्यान्त फण्ड म्यानेजमेन्ट प्रालिका साझेदारी प्रमुख निश्चल सिंह भण्डारी र उपाय बिजनेश सोलुशन प्रालिका प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठ र डाइनो टेक प्रालिका अध्यक्ष प्रदीप सिग्देलबीच दुईवटा सम्झौता भएको हो ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै महासंघका कोशी प्रदेश अध्यक्ष राउतले नेपालको आर्थिक विकासका लागि कोशी प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताए ।
आर्थिक क्षेत्रको विकासमा व्यवसाय विकास सेवा अति नै आवश्यक रहेको भन्दै सम्झौता सम्पन्न पश्चात कोशी प्रदेशका उद्योग प्रतिष्ठानहरूले राष्ट्रिय पुँजी निर्माणमा महत्वपूर्ण सल्लाह सुझावहरू प्राप्त गर्ने अवसर निर्माण भएको बताए । उनले सम्झौता पश्चात स्थापना हुने व्यवसाय विकास केन्द्रमार्फत उद्योग व्यवसायले अनेकौं लाभ प्राप्त गर्ने बताए ।
अध्यक्ष राउतले कोशी प्रदेशमा १२ हजार २२५ वटा उद्योग प्रतिष्ठान सञ्चालनमा रहेको तथा त्यहाँ ७३ हजार ९१८ श्रमिक मजदुर र कर्मचारीले रोजगारीको अवसर पाएको जानकारी दिए ।
उद्योग व्यवसायमा समयानुकुल व्यवसाय विस्तार तथा बजार निर्माणको ज्ञान हुन नसके मुलुकको अर्थतन्त्र नै संकटमा पर्ने उनले बताए ।
महासंघले उपाय विजनेश सोलुसन र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडको सहकार्यमा उद्योग व्यवसायसम्बन्धी कानुनीदेखि व्यवसाय सुधार, बजार पहुँच र प्रतिस्पर्धात्मक क्षमता बढाउने तौरतरिकाबारे परामर्श प्रदान गर्ने जनाइएको छ ।
कार्यक्रममा अध्यान्तका प्रतिनिधि निश्चलसिंह भण्डारीले दुई वर्षदेखि उद्योग वाणिज्य महासंघ कोशीसँग सहकार्य गरिरहेको जानकारी दिंदै आगामी दिनमा व्यवसाय विकास सेवामार्फत सेवा केन्द्रहरू स्थापना गरी थप काम गर्ने अवसर प्राप्त भएको बताए ।
उदय परियोजनाका विष्णु काफ्लेले उद्योगीले व्यहोर्नुपरेका समस्या समाधान गर्नका लागि व्यवसाय विकास सेवा सुरु हुनु सुखद भएको बताए ।
सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठले नेपालको विकासमा साना तथा मझौला उद्योगहरूको संरक्षण र विकासमा जोड दिनुपर्ने बताइन् । त्यसका लागि व्यवसाय विकास सेवा कार्यक्रम प्रभावकारी बन्नेमा आफू विश्वस्त रहेको बताइन् ।
उपाय परियोजनाकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले व्यवसायिक व्यक्ति, साना र मझौला उद्योग एवं व्यापार संगठनहरूका आवश्यकता सम्बोधन गर्न बीडीएस कार्यक्रम प्रभावकारी रहेको बताइन् । उनले कानुन, लेखा, कर, विज्ञापन जस्ता पक्षमा समेत उद्योग व्यवसायको क्षमता विकास हुने बताइन् ।
महासंघ कोशीका सदस्य वीरेन्द्र साहले बीडीएस कार्यक्रमका लागि महत्वपूर्ण संस्थाहरूसँग महासंघले सहकार्य गर्न पाएको बताए ।
कार्यक्रमलाई सफल बनाउन सबै सरोकारवालाको भूमिका रहने उनले बताए ।
View : 29
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved