Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

सुन्दरहरैंचामा शैक्षिक महोत्सव हुने

उद्‌घोष संवाददाता
३ फागुन २०८२, आइतवार

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले ‘ज्ञान र सीपको उत्सव, सुन्दरहरैंचा शैक्षिक महोत्सव २०८२’ आयोजना गर्ने भएको छ ।

नगर प्रवक्ता तथा वडा नम्बर १२ का वडा अध्यक्ष रोशनप्रसाद ढकालले फागुन ४, ५ र ६ गते प्रथम शैक्षिक महोत्सव २०८२ सञ्चालन हुने बताए ।

महोत्सवले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा कायम गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ । महोत्सवमा नगरभित्र रहेका ८७ विद्यालयका करिब ३६ हजार विद्यार्थीले सहभागिता जनाउने जनाइएको छ ।

तीन दिनसम्म चल्ने महोत्सवमा अभिभावक, विद्यार्थी, स्थानीयवासी तथा अन्तरपालिकाबाट समेत गरी करिब १ लाख ५० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । 

प्रदर्शनी मूल समारोह समितिका संयोजकसमेत रहेका नगरप्रमुख केदारप्रसाद गुरागाईंले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने र व्यवहारिक ज्ञान हासिल गराउने उद्देश्यसहित पहिलो पटक यस्तो महोत्सव आयोजना गर्न लागिएको बताए ।

शिक्षा शाखा प्रमुख तेज आचार्यले महोत्सवमा भाषा, साहित्य, विज्ञान, प्रविधि, गणित, सामाजिक अध्ययन, वातावरण, स्वास्थ्य, पोषण तथा व्यावसायिक सीपसँग सम्बन्धित विभिन्न विषयगत प्रदर्शनीहरू समावेश गरिने जानकारी दिए । यस्तै विभिन्न क्षेत्रमा रहेको सफल व्यक्तिहरूसँग प्यानल डिस्कसन हुनेछ ।

सुन्दरहरैंचा–१० विराटचोकस्थित औद्योगिक प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको उद्घान कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने जनाइएको छ । 

महोत्सव सफल पार्न विभिन्न समिति तथा उपसमिति गठन गरी तयारीलाई तीव्रता दिइएको नगरपालिकाले जनाएको छ ।

View : 90

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved