Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

सुन्दरहरैंचाको शैक्षिक गौरव

साजीलाल माविले मनायो ६०औं वार्षिकोत्सव

उद्‌घोष संवाददाता
२२ माघ २०८२, बिहिवार

सुन्दरहरैंचा  । मोरङको सुन्दरहरैंचा–६ स्थित साजीलाल माध्यमिक विद्यालयको ६०औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

चार दिनसम्म सञ्चालन भएको वार्षिकोत्सव कार्यक्रमको अन्तिम दिन नगर प्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गरिएको थियो।

नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता

वार्षिकोत्सवको अवसरमा टीकाराम-षडानन्द दाहाल स्मृति अक्षयकोषद्वारा आयोजित नगरस्तरीय अन्तर सामुदायिक माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। गछिया ब्लकमा भएको उक्त प्रतिस्पर्धामा आयोजक साजीलाल माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ।

त्यसैगरी सुकुना माध्यमिक विद्यालय द्वितीय र जनता माध्यमिक विद्यालय बुधबारेले तृतीय स्थान हासिल गरेका छन्।

विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा शैक्षिक ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने बताए । वार्षिकोत्सवको चार दिने अभियानमा आन्तरिक खेलकुदका विभिन्न विधाहरू समेत सञ्चालन गरिएको थियो।

शिक्षक र कर्मचारीलाई सम्मान

कार्यक्रममा उत्कृष्ट कार्य गर्ने शिक्षक र कर्मचारीहरूलाई सम्मान गरिएको थियो। शिक्षक प्रोत्साहन अक्षयकोषबाट शिक्षक चुडामणि दुलाल, विद्यालयका तर्फबाट कर्मचारी रोहितबहादुर विक र अतिरिक्त क्रियाकलापतर्फ जयराम राजवंशी सम्मानित भए ।

त्यस्तै, विद्यालयको विकासमा योगदान पुर्‍याउने पूर्व समिति सदस्य रामप्रसाद उप्रेती, पूर्व विद्यार्थी भक्तिप्रसाद सिटौला, सोभितलाल चौधरी तथा पूर्व शिक्षक शिवनारायण चौधरीलाई विशेष सम्मान गरिएको थियो।

सोही अवसरमा जेहेन्दार विद्यार्थीहरूलाई अक्षयकोष छात्रवृत्ति तथा विभिन्न विधाका पुरस्कारहरू समेत वितरण गरिएको थियो।

शिक्षा भयमुक्त हुनुपर्छ : नगर प्रमुख गुरागाईं

कार्यक्रमका  सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले साजीलाल माविले यस क्षेत्रको शिक्षामा पुर्‍याएको योगदानको प्रशंसा गरे।

उनले आजको आवश्यकता व्यावहारिक र गुणस्तरीय शिक्षा भएको उल्लेख गर्दै शिक्षण सिकाइ प्रक्रिया भयमुक्त हुनुपर्नेमा जोड दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाप्रेमी र अभिभावकहरूको ठूलो उपस्थिति  थियो।

View : 479

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved