Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पाँच करोड लगानी रहेको ‘विराट स्पोर्टस् जोन’ सञ्चालनको तयारी

उद्‌घोष संवाददाता
२६ मंसिर २०८२, शुक्रवार

विराटनगर । कोशी प्रदेशमा आधुनिक खेलकुद पूर्वाधारका रुपमा विराट स्पोर्टस् जोन सञ्चालनको तयारी गरिएको छ । 

पाँच करोड रुपैयाँ लगानीमा निर्माण गरिएको सुविधासम्पन्न स्पोर्टस् जोनको शनिबार औपचारिक कार्यक्रमका साथ उद्घाटन गरी सञ्चालनमा ल्याइने जनाइएको छ ।

विराटनगर–३ स्थित दूधफाराम पूर्व २० कठ्ठा क्षेत्रफल रहेको जग्गामा स्पोर्टस् जोन सञ्चालन गरिएको स्पोर्टस् जोनका अध्यक्ष हरि बजगाईँले जानकारी दिए । यो खेलकुद संरचना निर्माण सम्पन्न हुँदा कोशी प्रदेशकै खेलकुद क्षेत्रमा नयाँ आयाम थपिएको उनले बताए ।

स्पोट्र्स जोनभित्र मुख्यगरी क्रिकेट, फुटसल, स्केटिङ, गो–कार्ट, ब्याडमिन्टन, पिकल बल र टेबल टेनिस खेल समावेश छन् । 

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको नेपालकै व्यवस्थित र ठूलो क्रिकेट एकेडेमीका रुपमा स्पोर्टस् जोन निर्माण गरिएको अध्यक्ष बजगाईँको भनाई छ । जोनभित्र आधुनिक सुविधायुक्त भौतिक संरचना, योग्य प्रशिक्षक र व्यवस्थित प्रशिक्षण सुविधा प्रदान गरिने जनाइएको छ । 

मुख्यगरी क्रिकेट, फुटबल, तेक्वान्दो र स्केटिङ खेलको प्रशिक्षण सञ्चालन गरिने छ । त्यसका लागि अनुभवी प्रशिक्षकहरू नियुक्त गरिसकेको विराट स्पोर्टस् जोनका सचिव नवराज काफ्लेले बताए ।

स्पोर्टस् जोनले संचालन गरेको प्रशिक्षण केन्द्रमा भर्ना हुने प्रशिक्षार्थी खेलाडीलाई पाँच लाख रुपैयाँ बराबरको बीमाको व्यवस्था रहेको उनले जानकारी दिए ।

विराटनगरका युवा उद्यमीका रुपमा अध्यक्ष बजगाईँ, सचिव काफ्ले, कोषाध्यक्षमा राज ढकाल रहेका छन् । त्यस्तै सदस्यहरूमा अम्बिका अधिकारी, धड्कन कट्टेल र रेखा उप्रेती सञ्चालक सदस्य रहेको जनाइएको छ ।

नेपालमै केही गर्नुपर्छ भन्ने मान्यताका साथ जोखिम मोलेर भए पनि खेलकुद क्षेत्रमा लगानी गरेको संञ्चालकहरू बताउँछन् ।

एकेडेमीमा खेल प्रशिक्षण गर्न आउने प्रशिक्षार्थी खेलाडीहरूलाई खेलकुदमैत्री वातावरण सिर्जना गर्ने उद्देश्यले क्याफे समेत सञ्चालन गरिएको कोषाध्यक्ष राज ढकालले बताए । क्याफेमा पूर्ण रूपमा शाकाहारी तथा स्वास्थ्य अनुकूल भोजन गर्न सकिने जानकारी दिए ।

स्पोर्टस् जोनले उद्घाटनका अवसरमा ट्यालेन्ट हन्ट समेत आयोजना गर्ने जनाइएको छ । त्यसमा उत्कृष्ट हुने प्रशिक्षार्थीहरूलाई छात्रबृत्ति समेत प्रदान गरिने संचालकहरूले बताए ।

स्पोट्र्स जोनभित्रै स्वीमिङ पुल र इनडोर गेमिङ जोन लगायतका थप आधुनिक खेलकुद पूर्वाधार पनि निर्माण गर्ने योजना रहेको जनाइएको छ ।

View : 327

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved