कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा निर्मित तस्वीर ।
विराटनगर । सरकारले साउन १ गतेदेखि आधा सिलिन्डरको नियम हटाएर पूरा सिलिन्डर वितरण गर्ने व्यवस्था गरेसँगै कोशी प्रदेशमा एलपी ग्यासको चर्को अभाव देखिएको छ ।
विराटनगर र इटहरीलगायतका बजारमा डिलरहरूको मौज्दात रित्तिएपछि खाली सिलिन्डर बोकेर लाइन बसेका उपभोक्ताहरू ग्यास नपाएरै रित्तो हात फर्किन बाध्य छन् ।
ग्यास अभावका कारण घरायसी जनजीवनसँगै होटल, रेस्टुरेन्ट र क्याफेहरू समेत प्रभावित बनेका छन् ।
विराटनगर कञ्चनबारीका होटल व्यवसायी काशी राजवंशीले पूरा सिलिन्डर दिने भनेपछि झन् ग्यास अभाव भएको बताए ।
भारतको हर्दिया–दुर्गापुर क्षेत्रको आपूर्ति प्रणालीमा आएको अवरोध र भागलपुरको पुलमा क्षति पुग्दा ग्यास बुलेटहरूको ढुवानीमा ढिलाइ भएको छ ।
पूरा सिलिन्डर वितरण सुरु भएलगत्तै माग आकाशिएको र उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चित गरेका कारण पनि समस्या चुलिएको हो ।
नेपालमा मासिक करिब ४५–४६ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ र यो पूर्ण रूपमा भारतीय आयातमा निर्भर छ ।
नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालयका अनुसार विराटनगरमा केही बुलेट भित्रिए पनि तत्कालको माग धान्न पर्याप्त छैन ।
भारततर्फको ढुवानी प्रणाली पूर्ण रूपमा सहज नभएसम्म उपभोक्ताले केही दिन यो सास्ती भोग्नुपर्ने देखिएको छ ।
View : 108
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved