अनुसन्धानका क्रममा पहिचान भएका प्रहरी कार्यालयहरुमा तोडफोडमा संलग्न व्यक्तिहरुको तस्वीर । तस्वीर : जिल्ला प्रहरी कार्यालय मोरङ
विराटनगर । जेनजी आन्दोलनका नाममा प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्नेमध्ये मोरङ प्रहरीले पक्राउ गरेका २१ जनामाथि अनुसन्धान जारी राखेको छ ।
पक्राउ परेकामध्ये १० जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर प्रहरी अनुसन्धान सुरु गरेको हो ।
भदौ २४ मा चर्किएको जेनजी समूहको उग्र प्रदर्शनका क्रममा मोरङ प्रहरीका विभिन्न युनिटमा तोडफोड र आगजनी भएको थियो ।
प्रहरीले उक्त कार्यमा संलग्नहरूको फोटो र भिडियोको आधारमा पहिचान गरी पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।
आन्दोलनका नाममा उच्छृङ्खल तथा आपराधिक मनोवृत्तिका व्यक्तिहरूले घुसपैठ गरेर इलाका प्रहरी कार्यालय पथरीशनिश्चरे र इलाका प्रहरी कार्यालय उर्लाबारी, प्रहरी चौकी मझारे, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, सीआरभी पोष्ट केशलिया, जतुवा, ट्राफिक आइल्याण्ड, ट्राफिक लाइट, सीसी क्यामेरा र सवारी साधन तोडफोड र आगजनी गरेको मोरङ प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालले पक्राउ परेका २१ जनामाथि अनुसन्धान भइरहेको जानकारी दिइन् ।
प्रहरीले अदालतबाट अनुमति लिएरै पक्राउ परेका २१ जनाको नाम र ठेगानासहितको विवरण सार्वजनिक गरेको थियो ।
‘अनुसन्धान सकिएको छैन’ प्रवक्ता चुडालले भनिन्, ‘सकिएपछि हामी अभियोजनको प्रक्रियाका लागि सरकारी वकिलको कार्यालयमा बुझाउँछौं ।’
२१ जनामध्ये जिल्ला प्रहरी कार्यालय मोरङले १० जना, इप्रका पथरीशनिश्चरेले छ जना र इप्रका उर्लाबारीले पाँच जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ का २२ वर्षीय विशाल बाल्मिकी, विराटनगर महानगरपालिका–६ का २४ वर्षीय चन्दन वर्मा र २९ वर्षीय किसन सहनी, विराटनगर–९ का २७ वर्षीय गोपी साह र २० वर्षीय विष्णु साफी, विराटनगर–१४ का २४ वर्षीय राजेश यादव, जहदा गाउँपालिका–२ का ३० वर्षीय प्रवेश मण्डल र जहदा–३ का २५ वर्षीय सुशील यादव रहेका छन् ।
त्यसैगरी इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–१ का २३ वर्षीय चन्द्र कार्की, २३ वर्षीय दीपक चौधरी, २५ वर्षीय मुकेश बराइली, २१ वर्षीय विश्वास थापा, १९ वर्षीय सिद्धार्थ राई र २६ वर्षीय मिथुन मण्डललाई पक्राउ गरेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी–६ का २९ वर्षीय राजकुमार सहनी, ४५ वर्षीय उदय साह, ४० वर्षीय बब्लु साह, ३० वर्षीय मिलन राई र उर्लाबारी–७ का २४ वर्षीय रविन सुन्दास पक्राउ गरी अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रहरीले उनीहरूलाई पक्राउ गर्नुअघि सूक्ष्म अनुसन्धान र घटनामा उनीहरूको संलग्नताको विश्लेषण गरेर मात्रै पक्राउ गरेको दाबी गरेको छ ।
जेनजी समूहका नाममा प्रदर्शनपछि भएको तोडफोड र आगजनीबाट जिल्ला प्रशासन कार्यालयसहित करीव एक सयवटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
मोरङमा नेपाल प्रहरीका १७ वटा पोस्ट तथा कार्यालय एवं सशस्त्र प्रहरीका चारवटा पोस्टमा क्षति पुगेको जनाइएको छ ।
View : 199
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved