विराटनगर । शनिबार अपरान्ह ओभरफ्लो भएर बस्तीतर्फ पसेको सप्तकोशी नदीको बाढीले उदयपुरको बेलका नगरपालिकाका चारवटा वडाका साढे ११ सय बढि घरपरिवार प्रभावित भएका छन् ।
बाढी पसेको वडा नम्बर २, ३, ८ र ९ का प्रभावित क्षेत्रमा अहिले पानीको बहाव घटेपनि बाढीसँगै आएको लेदोले सर्वसाधारणका घर भित्रैसम्म भरिएको छ । जसका कारण उनीहरूलाई सामान्य जनजीवनमा फर्किन निकै कष्ट भइरहेको छ ।
वडा नम्बर २ को रामनगर, नारायणपुर टोल र शान्तिनगर टोलमा बाढीको लेदोयुक्त पानी मानिसहरूका घरभित्र पसेको हो । प्रभावित क्षेत्रमा बेलका नगरपालिकाका मेयर अशोक कार्की, २ नम्बर वडाका वडाध्यक्ष प्रेम बहादुर दाहाल लगायतको टोलीले ट्रयाक्टरमा चढेर प्रभावित क्षेत्रको निरीक्षण गरेको छ ।
निरीक्षणका क्रममा बाढीले डुबानमा परेका परिवारलाई तत्काल राहत व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको जनाइएको छ ।
वडा नम्बर २ मा मात्रै करिव ४५० बढी घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन् । अधिकांश घरका घर भित्रैसम्म लेदो बाढी भरिएको छ ।
कोशीको बाढीले उनीहरूको खाद्यान्न भिजाएर क्षति पुर्याएको छ । कतिपयको त बगाएको छ । खाना बनाएर खाने ठाउँ समेत नहुँदा जनजीवन कष्टकर रहेको मेयर कार्कीले बताए ।
बाढीको लेदोयुक्त पानीका कारण पिउने पानीको अत्याधिक समस्या रहेको जनाइएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य र सरसफाइ सम्बन्धी आवश्यक प्रतिकार्य आवश्यक रहेको मेयर कार्कीले बताए ।
शनिबार दिउँसोदेखि उदयपुरको बेलकातिर सोझिएको कोशीको बाढीले १ हजार १५४ वटा घर डुबानमा परेको नगरपालिकाले जनाएको छ ।
डुबानका कारण प्रभावितहरू घरमा बस्ने अवस्था बन्न नसकेको जनाइएको छ । बेलका २ का ४७९ परिवार, ३ का ४६४, ८ का ५९ र ९ नम्बर वडाका १५२ घर परिवार डुबानमा परेका हुन् ।
पानी घटेपछि अहिले धेरै प्रभावितहरू आफ्नै घरमा फर्किएका छन् । दुई वर्ष अघि पनि कोशीको पश्चिम तटबन्ध कटान भएर बाढी पस्दा सोही क्षेत्रका बासिन्दा डुबानमा परेका थिए ।
तस्वीर सौजन्य : अशोक कार्कीको सचिवालय
View : 108
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved