विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सोमबार सार्वजनिक कार्यत्रममा खरिदारलाई लान्छित गर्दै दिएको अभिव्यक्तिप्रति निजामति कर्मचारी सम्वद्ध संस्थाहरुले असन्तुष्टि जनाएका छन् । नेपाल निजामती कर्मचारी संगठन, पेशागत महासंघ लगायतका संस्थाहरुले मुख्यमन्त्रीको भनाइ ‘कोरा, अपरिपक्क र हचुवा’ भएको बताएका हुन् ।
मुख्यमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै नेपाल निजामती कर्मचारी संगठन मोरङ र सुनसरी तथा पेशागत महासंघ कोशी प्रदेश समितिले विज्ञप्ति नै निकालेका छन् । निजामती कर्मचारी संगठन मोरङका अध्यक्ष ओमप्रसाद सुवेदी र सचिव शालिगराम कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको अभिव्यक्तिले सिंगो राष्ट्रसेवक क्षेत्रलाई दुखित बनाएको उल्लेख छ ।
‘योग्यता प्रणालीमा विश्वास गर्नेहरु प्रतिको मुख्यमन्त्रीज्यूको कोरा अपरिपक्क हचुवा अभिव्यक्तिले सबै तहका राष्ट्रसेवकहरुको शिर निहुरिएको छ, कडा मेहनेत र परिश्रमबाट प्रतिष्पर्धामा आफूलाई अब्बल सावित गर्दै सार्वजनिक प्रशासनको मुल आधारस्तम्भ रहेको खरदार र सुब्बा तहका राष्ट्रसेवकको उदाहरण दिंदै मुख्यमन्क्रीज्यूले व्यत्त गर्नु भएको विचार आफैमा अपरिपक्व उन्मादपूर्ण कोरा अभिव्यक्ति हो’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो निच भनाइप्रति नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति मोरङको गम्भीर ध्यानाकर्षण भएको छ ।’
मुख्यमन्त्रीको भनाईले विद्यालयमा ‘अघिल्लो बेञ्चमा बसेर मेहनत गर्नेहरु खरदार मात्रै हुन्छन् पछिल्लो बेन्चमा बसेर लखुवागिरी गर्नेहरु मन्त्री, मुख्यमन्त्री बन्छन्’ भन्ने अभिव्यक्तिले बालबालिकामा कस्तो सन्देश प्रवाह हुन्छ ? भन्दै प्रश्न गर्नुपर्ने अवस्था उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
‘एउटा खरदार र सुब्बा वा जुनसुकै तहको राष्ट्रसेवक मेहनेत साथ लागेमा तपार्इंहरु जस्तो मन्त्री मुख्यमन्त्री बन्न सक्छ तर तपार्इंहरु यो जुनीमा खरदार, सुब्बा वा अन्य कुनै प्रकारको राष्ट्रसेवक बन्न सक्नु हुन्न’ विज्ञप्तिमा भनिएको छ ‘योग्यता क्षमतालाई मानमर्दन गर्ने यहाँको अभिव्यक्तिप्रति कति आलोचना गरे पनि कम हुन सक्छ, योग्यताको कदर र सम्मानभित्र तपाईको पनि योग्यता झल्किन्छ, त्यसैले यहाँले भावावेशमा आएर दिनु भएको यो अपरिपक्व अभिव्यक्ति फिर्ता लिएर सवै राष्ट्रसेवकहरुको आत्म सम्मानमा पुगेको चोटप्रति क्षमायाचना गर्नु नै बुद्धिमानी हुन्छ ।’
निजामति कर्मचारी संगठन सुनसरीका अध्यक्ष चिनेश्वर मेहताले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री कार्कीको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक भएको उल्लेख छ । मुख्ममन्त्रीको भनाइले राष्ट्रसेवकहरुको मानमर्दन गरेको तथा राजनीतिक नेतृत्वको चेतप्रति दया गर्नुपर्ने अवस्था बनेको जनाइएको छ ।
पेशागत महासंघ कोशी प्रदेश समितिका अध्यक्ष अशेषकुमार लम्साल र महासचिव प्रेमप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले राष्ट्रसेवकहरुको शीर निहुरिएको उल्लेख छ ।
मुख्यमन्त्री कार्कीले कलिला बालबालिकाहरुलाई अगाडि राखेर दिएको अभिव्यक्ति बालबालिकामा पर्ने मनोबैज्ञानिक असरको समेत ख्याल नरिनु आपत्तिजनक भएको जनाइएको छ ।
‘अघिल्लो बेन्चमा बसेर मेहनत गर्नेहरु खरदार मात्रै हुने र पछिल्लो बेञ्चमा बसेर गफ चुट्नेहरु मन्त्री, मुख्यमन्त्री बन्छन् भन्ने अभिव्यक्तिले बालबालिकाहरुमा कस्तो सन्देश दिन खोजिएको हो ?’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रसेवकहरुको इज्जत सम्मानले नै मुख्यमन्त्रीको पदीय गरिमा बढ्छ, यस्ता अभिव्यक्ति सुधार गरी उच्च मनोबल र आत्म सम्मानका साथ कार्यस्थलमा सेवा गर्ने वातावरण निर्माण गर्न पेशागत महासंघ अनुरोध गर्दछ ।’
View : 190
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved