विराटनगर । विराटनगरमा सुकुम्वासीको घर निर्माणमा कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमदान गरेका छन् । मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सुरु गरेको विराटनगर– १६ दरैयाका सुकुम्वासी शिव राईको घर निर्माण अभियानमा शुक्रवार मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् ।
आर्थिक अभावका कारण राईका तीन छोराछोरीसहित पाँच जनाको परिवार झुपडीमा बस्दै आएको थियो । उनका लागि शुक्रवार सांसद मण्डलको पहलमा जस्तापाताले छाएको अस्थायी घर निर्माण भएको हो ।
घर निर्माण सामग्री जीवन विकास लघुवित्त वित्तीय संस्था कटहरीले उपलब्ध गराएको थियो । घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बल, भाडा वर्तन र खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका थिए ।
जाडो मौसममा पाँच जनाको परिवार कष्टकर रूपमा बसिरहेको गुनासो आएपछि घर निर्माण गरिएको सांसद मण्डलले बताए ।
‘यहाँ आएर हेर्दा अवस्था दयनिया थियो, १० दिनअघि डसना र सिरक उपलब्ध गराइएको थियो,’ मण्डलले भने,‘ विभिन्न क्षेत्रको समन्वयमा आज श्रमदान गरेर अस्थायी घर निर्माण गरेका छौँ ।’ उनले श्रमदानको अभियान निरन्तर चल्ने बताए ।
मुख्यमन्त्री कार्कीले गरिब, दलित, सुकुम्वासीको साथमा सरकार छ भन्ने सन्देश दिनका लागि घर निर्माणमा श्रमदान गरेको बताए ।
विपन्नलाई सरकारको अनुभूति गराउने गरी काम गरिरहेको उनले बताए । ‘निर्वाचनका बेलामा गरेको बाचा पूरा गर्न श्रमदान गरिरहेको छु,’ उनले भने,‘ गरिवका दुःख समाजका सबैले बुझेर एक अर्कालाई सहयोगको भावना विकास गराउनुपर्छ ।’
घर निर्माणमा मुख्यमन्त्री कार्की,सांसद मण्डलसँगै जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डललगायतले पनि श्रमदान गरेका थिए ।
View : 163
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved