विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङले शनिबारदेखि खेलकुद महोत्सव आयोजना गर्ने भएको छ ।
माघ १७ गतेसम्म हुने प्रतियोगितामा मोरङ जिल्लाभरीका संस्थागत विद्यालय र कलेजका कक्षा ११ र १२ मा अध्ययनरत ३२ हजार विद्यार्थीहरूबाट छानिएका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
‘शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने मूल नाराका साथ हिसानले आयोजना गर्न लागेको प्रतियोगिताबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा हिसान मोरङका अध्यक्ष अमित ढकालले खेलकुदको माध्यमबाट विद्यार्थीहरूलाई अनुशासित, स्वस्थ र लागुपदार्थको कुलतबाट बचाउन अभिप्रेरित गर्ने बताए ।
प्रतियोगिता अन्तरगत पुरुष तथा महिलातर्फ फुटबल, भलिबल, बास्केटबल, क्रिकेटतर्फ पुरुष, कबड्डी, एकल र जोडी टेबल टेनिस र लामो र छोटो दुरीको दौडलगायतका एथलेटिक्स प्रतिस्पर्धा हुने जनाइएको छ ।
फुटबलमा २४, भलिबलमा २० र क्रिकेटमा १९ टोलीले प्रतिष्पर्धा गर्नेछन् । क्रिकेट विराटनगर जुटमिलस्थित क्रिकेट मैदानमा हुनेछ । फुटबल विराटनगरकै सहिद रंगशालामा हुने जनाइएको छ ।
विजेता तथा उपविजेता खेल टोलीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने हिसान मोरङका महासचिव भुवन नेपालले बताए ।
हिसानले २०६५ सालदेखि विद्यार्थीहरूले सहभागिता जनाउने खेलकुद महोत्सव आयोजना गर्दै आएको जनाइएको छ ।
View : 113
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved