Biratnagar, Morang, Nepal
३१ असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

दुहबी–धरान ३३ केभी लाइन मर्मतमा गएका विद्युत प्राधिकरणका दुई कर्मचारीको दुर्घटनामा गयो ज्यान

उद्‌घोष संवाददाता
३० असार २०८३, मङ्गलवार

Advertisement

विराटनगर । दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा देखिएको खराबी अनुगमन तथा मर्मतका लागि गएका नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका दुई कर्मचारीको सोमबार राति सवारी दुर्घटनामा मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कोरपियो चालक धरान–१३ का बिर्खबहादुर राई र धरान–१६ का सुमन आचार्य रहेका छन् । दुर्घटनामा घाइते धरान–२० का पदम राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख हरिराम पोखरेलका अनुसार दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि पेट्रोलिङ तथा मर्मतका लागि राति पौने १० बजेतिर उनीहरुलाई परिचालन गरिएको थियो । तर सेउती पुल नजिकै उनीहरु सवार गाडी अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राईका अनुसार धरानबाट इटहरीतर्फ जाँदै गरेको बा १ ञ १६५१ नम्बरको स्कोरपियो धरान–इटहरी सडकखण्डअन्तर्गत सेउती पुलबाट करिब २ सय मिटर दक्षिणमा सोमबार राति साढे ११ बजेतिर आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा गम्भीर घाइते दुवैलाई उद्धार गरी बीपी प्रतिष्ठान पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

View : 66

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved