विराटनगर । विराटनगरसँग साँध जोडिएको भारतीय राज्य बिहारमा लामो समयपछि मुख्यमन्त्री पदमा बदलाव आएको छ । बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड) का अध्यक्ष नीतिश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।
यता भाजपाका सम्राट चौधरीले पनि बुधबार बिहारको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । उनी बिहारमा भारतीय जनता पार्टी (भाजपा) का पहिलो मुख्यमन्त्री बनेका छन् ।
नीतिशले भने मंगलबार बिहान अन्तिम मन्त्रिपरिषद बैठकको अध्यक्षता गरेपछि राज्यपालसमक्ष लिखित राजीनामा बुझाएको जानकारी आफ्नो ‘एक्स’ अकाउन्टमार्फत सार्वजनिक गरेका थिए ।
राजीनामा दिंदै नीतिशले बिहारका सम्पूर्ण जनतालाई धन्यवाद दिएका छन् । उनले आगामी सरकारलाई पूर्ण सहयोग र आवश्यक मार्गदर्शन दिने प्रतिबद्धता पनि जनाएका छन् ।
‘बिहारमा सन् २००५ नोभेम्बर २४ मा पहिलो पटक एनडीए सरकार गठन भएको थियो । त्यसयता बिहारमा कानुनको शासन स्थापित छ र हामी निरन्तर विकासका काममा जुटेका छौं,’ नीतिश कुमारको दाबी छ
‘मेरो कार्यकालमा बिहारका सबै धर्म, जाति, समुदाय, वर्ग र तहका जनताको समग्र विकास भएको छ ।’
उनले शिक्षा, स्वास्थ्य, विद्युत, कृषि जस्ता हरेक क्षेत्रमा उल्लेखनीय काम भएका छन् । महिला र युवाहरूका लागि पनि विशेष योजनाहरू सञ्चालन गरिएको उनले जानकारी दिएका छन् ।
नीतिश कुमार सन् २००० मा पहिलो पटक ७ दिनका लागि मुख्यमन्त्री बनेका थिए । त्यसपछि २००५ देखि २०१४ सम्म करिब ८ वर्ष १७७ दिन मुख्यमन्त्री रहे ।
बीचमा जितनराम माझीले सन् २०१४–२०१५ मा २७८ दिन पद सम्हालेका थिए । त्यसपछि ११ वर्ष ५१ दिन लगातार मुख्यमन्त्रीको भूमिकामा रहेर नीतिश सो पदबाट बिदा भएका छन् ।
उनको राजीनामासँगै बिहारमा पहिलोपटक भारतीय जनता पार्टीको नेतृत्वमा सरकार गठन भएको हो ।
नयाँ मुख्यमन्त्रीका रूपमा बीजेपीका नेता तथा हालका उपमुख्यमन्त्री सम्राट चौधरीले सपथ लिएका हुन् । चौधरी बिहारको २३औं मुख्यमन्त्री बनेका छन् ।
नयाँ मन्त्रिपरिषदमा विजय कुमार चौधरी र बिजेन्द्र प्रसाद यादवले पनि मन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् ।
नीतिश कुमार यसअघि मार्च महिनामा भारतको माथिले सदन राज्यसभाको सदस्य निर्वाचित भएका थिए र उनले सांसदको शपथ पनि लिइसकेका छन् । पछिल्लो समय उनी बीजेपीको समर्थनमा मुख्यमन्त्रीको जिम्मेवारीमा थिए ।
भाजपा र जेडीयूसहितको गठबन्धनले नीतिशलाई मुख्यमन्त्रीको रुपमा अघि सारेर विधानसभा चुनाव लडेका थिए । विपक्षी दल आरजेडीका नेता तेजस्वी यादवले बिहारलाई अब गुजरातले चलाउने अवस्था देखिएको बताएका छन् ।
View : 250
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved