विराटनगर । ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित माओवादी केन्द्रका पूर्वमहासचिव जनार्दन शर्माको नेतृत्वमा नेकपा माओवादी केन्द्र विभाजित भएको छ ।
पार्टीभित्र अरु नेता कार्यकर्ताको बिचारलाई रोक्दै आएका वर्तमान संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी रुपान्तरण र पुनगर्ठनको एजेण्डा सुनुवाई नगरेपछि शर्मासहितका नेताहरूले विद्रोह गरेका हुन् । शर्मालाई पूर्वसचिव राम कार्की लगायतले ऐक्यबद्धता जनाउँदै प्रगतिशील अभियानलाई अघि बढाएका छन् ।
अभियानले नेपालमा दशकौँदेखि चल्दै आएका जनआन्दोलन, जनयुद्ध र जनविद्रोहका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने शर्माले बताए । मंगलबार पत्रकार सम्मेलनमार्फत देशलाई नयाँ समाजवादी दिशातर्फ उन्मुख गराउन सबै प्रगतिशील शक्तिहरू एकजुट गराउने उनले विश्वास व्यक्त गरेका छन् ।
‘विद्रोह हरेक पीडित, उत्पीडित र बेवास्ता गरिएको जनताको अधिकार हो, आजको आवश्यकता पुराना गल्तीबाट सिक्दै समाजवादी ऐक्यबद्धतामा नयाँ बाटो खोज्ने हो ।’ उनले भने, ‘क्रान्तिको मर्म र सहिदहरूको बलिदानलाई व्यर्थ जान नदिई समाजवादी राजनीति र जनताको सर्वोच्चतामा आधारित नयाँ दिशा तय गर्नुपर्छ ।’
माओवादी आन्दोलन र शान्ति प्रक्रियामा प्रवेशलाई ऐतिहासिक मोड भएको बताए ।
राम कार्कीले नेपाली कम्युनिष्ट आन्दोलनभित्रको गुटबन्दी, व्यक्तिवाद र अवसरवादले आन्दोलन कमजोर बनाएको बताए । उनले नेपालको वाम आन्दोलनले जनताको अपार विश्वास पाएको भएपनि नेताहरूले जनताप्रति जवाफदेही बन्न नसक्दा त्यो ऊर्जा निराशामा परिणत भएको बताए । कार्कीले मुलुकका लागि शुद्धता, आत्मसमीक्षा र सङ्गठनात्मक नवजीवनमार्फत नयाँ समाजवादी आन्दोलन खडा गर्नुपर्ने बताए ।
यता, माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने निर्णय गरिसकेका नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको दाबी गरे ।
राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै दाहालले विभिन्न नौ वाम घटकसँगको एकताबारे असन्तुष्टि व्यक्त गर्दै पार्टी पुनर्गठन अभियान सञ्चालन गर्ने घोषणा गरेका शर्मालाई पार्टी एकताको प्रक्रियामा फर्किन आह्वान गरेका थिए । उनले भने, ‘तपाईंले आफ्नो निर्णयमा पुनर्विचार गर्नुस्, पार्टीमा फर्कनुस्, सँगै अघि जानुपर्छ ।’
दाहाल–नेपालसहित अन्य साना बाम घटक दलहरूबीच आज भृकुटीमण्डपमा पार्टी एकता घोषणासभा हुँदैछ । माओवादीले नयाँ पार्टी गठनका क्रममा माओवाद छाडेको छ ।
दाहालसँग असन्तुष्ट रहेका शर्माले माधव नेपालले अघि सारेको माक्र्सवादी–लेनिनवादी विचारमात्रै पछ्याएर माओवाद छाडेको भन्दै चर्को असहमति जनाइसकेका छन् ।
View : 508
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved