Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

विर्तामोडका पूर्व मेयर पुर्पक्षका लागि थुनामा

उद्‌घोष सम्वाददाता
२३ पुष २०८१, मङ्गलवार

विराटनगर । बलात्कार अभियोगमा पक्राउ परेका झापा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई झापा जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको छ । 

झापा जिल्ला अदालतका स्रेस्तेदार किरणुकमार सिंहका अनुसार जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले सोमबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ बमोजिम पुर्पक्षका लागि थुना पठाइएका शिवाकोटीको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै अदालतले कारागारलाई उपचारको व्यवस्था गर्न पनि आदेश दिएको छ । 

शिवकोटी यतिन्जलेल अस्पतालमै थिए । सोमबार भने कारागार चलान भएका छन् । मंसिर २४ मा उनी पक्राउ परेका थिए । घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा उनी पक्राउ परेका थिए ।

पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकेर सोधपुछ गरेका थिए । त्यस क्रममा घटनाबारे थाहा भएपछि प्रहरी समेतको सहयोगमा उनलाई उद्दार गरिएको थियो ।

उद्धारपछि बालिकाले आफूमाथि पूर्वमेयर शिवाकोटीले पटक–पटक जबरजस्ती करणी गरेको बताएकी र सोही आधारमा शिवाकोटीलाई पक्राउ गरिएको प्रहरीले बताएको थियो । 

आमा भारतमा बस्ने गरेको र उनको बुबा नभएकी बालिकालाई शिवाकोटीले पढाइदिने सर्तमा घरेलु कामदारका रूपमा राखेका थिए । 

तत्कालीन अनारमनी गाविसको अध्यक्ष भइसकेका एमाले नेता शिवाकोटी २०७४ मा बिर्तामोडको मेयरमा निर्वाचित भएका थिए ।

View : 65

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved