काठमाडौँ, १३ असोज । देशभर बाढी पहिरो त्रासदीपूर्ण अवस्था बनेपछि सरकारले आज आइतबार सर्वदलीय बैठक आह्वान गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
आज दिउँसो १:०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जनाएको छ ।
अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।
मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । ७२ जना मानिसहरु अझै बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।
सडक, पुलपुलेसा पनि भत्किएका छन् । सरकारी अधिकारीहरुले यात्राका क्रममा अलपत्र परेकाहरुलाई उद्धार गरी गन्तव्यमा पु¥याउने प्रयास भइरहेको बताएका छन् । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।
कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका छन् ।
राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको जनाइएको छ ।
View : 71
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved