Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

त्रिविका भारतीय प्राध्यापकहरू धमाधम अवकाश हुँदै

उद्‌घोष संवाददाता
१८ साउन २०८२, आइतवार

विराटनगर । त्रभुवन विश्वविद्यालय (त्रिवि) मा अध्यापनका गर्दै आएका भारतीय प्राध्यापकहरु अवकाश हुँदै गएका छन् । कुनै समयमा भारतमा भन्दा नेपालमा प्राध्यापकको तलब आकर्षक भएकोले भारतीयहरु त्रिविमा पढाउनका लागि आउने गर्दथे । पचासको दशकमा त्रिविमा भारतीय प्राध्यापकहरुको संख्या १५० जनाको हाराहारीमा पुगेको थियो । अहिले उनीहरु अवकाश हुँदै गएपछि पचास जनाको हाराहारीमा पुगेको भारतीय करार प्राध्यापक जीतेन्द्रकुमार झाले बताए ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा पनि पहिले ११ बढी भारतीय प्राध्यापकमा हाल घट्दै गई तीन जनामा आइपुगेको छ ।  हाल भारतमा प्राध्यापकको तलब सुविधा आकर्षक भएकोले पछिल्लो समयमा भारतीयहरू प्राध्यापनका लागि नेपाल आउन छाडेको बताए । 

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा २०४५ माघ २४ गतेदेखि अंग्रेजी विषयमा प्राध्यापन सुरु गरेका झा बढुवा भएर सहप्राध्यापकसम्म भए । उनी करारमा रहेपनि  बढुवा भएका हुन्  । त्रिविमा नेपाली करारको बढुवा नहुने भए पनि भारतीयको भने हुने व्यवस्था छ । उनी उमेरहदका कारण आइतबारबाट अनिवार्य अवकाश भएका छन् । पहिले भारतीय करारले आफूले स्वेच्छाले सकुञ्जेल पढाउन पाउने व्यवस्था थियो ।

केही भारतीय प्राध्यापकहरुले सेवा आयोग दिएर स्थायीमा नियुक्त भएपछि नेपाली प्राध्यापकहरुले आफ्नो रोजगारी खोसेको भन्दै विरोध गरेका थिए सोही कारण विसं २०६५ सालपछि  भारतीय करारका लागि पनि उमेरहद सुरु भएको सहप्राध्यापक झाले बताए । 
भारतीय करार प्राध्यापकहरुले अवकाश हुँदा उनीहरुले कार्य गरेको बर्षको आधारमा उपदानको व्यवस्था रहेको छ ।

उनीहरुले प्रति वर्ष वर्तमानमा खाइपाई आएको डेढ महिनाको तलव बराबर हुने गरी कार्य गरेको वर्षको आधारमा उपदान पाउने व्यवस्था रहेको उनले बताए । गत वर्ष अवकाश भएका महेन्द्र मोरङकै अर्का भारतीय करार प्राध्यापक प्रदीपकुमार दुवेले सोही आधारमा उपदान सुविधा लिएका थिए ।

भारत विहारको वेनीपट्टी थाना बलिया गाउँका झाले पटना विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेर बसिरहेको बेला विराटनगरबाट गएको चतुर्भुज आशावादी नेतृत्वको नाटक टोलीले उनलाई पटनामा भेटेको थियो । उनी पनि नाटकमा भिजेका थिए । आशावादीको आग्रहमा विराटनगरमा आई महेन्द्र मोरङमा पढाउन सुरु गरेको झा सगौरव बताउँछन् । 

सुटिङमा स्वर्णपदक तथा हक्कीमा विहार प्रान्तको प्रतिनिधित्व गर्दै भारतको राष्ट्रिय प्रतियोगितामा सहभागी भएकोले आफूसँग भएको खेलकुदको प्रतिभा विराटनगरमा आएपछि भने  प्रस्तुत गर्न नसकेको बताए । सायद आफूले जानकारी नदिएकोले खेलकुदका लागि अवसर नमिलेको उनको धारणा छ । 

View : 732

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved