Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

आङ्बोका स्वकीयले चलाएको गाडीको ठक्करबाट युवकको मृत्यु

उद्‌घोष संवाददाता
२८ कार्तिक २०८२, शुक्रवार

विराटनगर । कोशी प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका स्वकीय सचिव गम्भीरमान सार्कीले चलाएको स्कार्पियोको ठक्करबाट युवकको मृत्यु भएको छ ।

कोशी प्रदेश सभाको को १ झ ६५० नम्बरको स्कार्पियोले बिहीबार बिहान करीव साढे ११ बजेतिर पुष्पलाल चोक–विराटचोक सडक खण्डको ग्रामथान–५ कखरमारीमा मोटरसाइकललाई ठक्कर दिंदा ग्रामथान गाउँपालिका–५ का ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त स्कार्पियो आङ्बोले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा चढ्दै थिए । 

गाडीको ठक्करपछि चौधरीलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा पु¥याइएकोमा चिकित्सकले मृत घोषित गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालले को ९ प ७९ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा उक्त स्कार्पियोले ठक्कर दिएको र उपचारका क्रममा निधन भएको जानकारी दिइन् । 

प्रहरीले स्कार्पियाका चालक पाँचथरको फाल्गुनन्द–१ का सार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । दुर्घटनाको समयमा आङ्बो भने गाडीमा नरहेको खुलेको छ । 

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले गाडी तिब्र गतिमा भएका कारण दुर्घटना भएको भन्दै अनुसन्धान अघि बढाएको जनाइएको छ ।

यसैबीच, माओवादी संसदीय दलका नेता आङ्बोले दुखद् घटना भएको भन्दै दुर्घटनाको कानुनी प्रक्रियालाई सहयोग गर्ने र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने कुरामा आफ्नो पूर्ण साथ रहने उल्लेख गरेका छन् ।

View : 241

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved