विराटनगर, १३ फागुन । मोरङ जिल्ला अदालतमा इजलासमै गएर न्यायाधीशलाई अपमान गर्दै गालीगलौज गर्ने महिलालाई अदालतले माफी दिएको छ । गत शुक्रबार दिउँसो इजलासमा पुगेकी मञ्जु गिरी नामकी महिलाले न्यायाधीश पारसमणि पोखरेललाई शारीरिक अशक्तता औंल्याएर अपमान गरेकी थिइन् ।
अपाङ्गता भएका न्यायाधीश पोखरेललाई गिरीले अझै सात पुस्तासम्म त्यस्तै होस् भनेर सरापेकी थिइन् । उनी आफ्नो भाइलाई दोषी ठहर गरेको रिसमा न्यायाधीशमाथि खनिएकी थिइन् ।
उनको गाली सुन्ने अदालतका एक कर्मचारीका अनुसार ‘घुस खाएर शरीर त्यस्तो भएको हो, सात पुस्तासम्म त्यस्तै होस्’ भन्दै उनले सरापेकी थिइन् ।
ती महिलाले तँ शब्द प्रयोग गर्दै गाली गरेपछि वैशाखी टेकेर न्यायाधीश पोखरेल इजलासबाट बाहिरिएका थिए ।
गिरीका भाइ जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भएकाले उनी न्यायाधीशलाई सराप्न त्यहाँ पुगेको पाइएको छ । अदालतमा खटेका सादा पोशाकका प्रहरीले उनलाई १ नम्बर इजलाशमा लगेर जनाउ दिएका थिए ।
न्यायाधीश उद्धवप्रसाद भट्टराईले ती महिलासँग जवाफ माग्दा माफी मागेकी थिइन् । स्रेस्तेदार मणिराम पोखरेलले उनलाई कार्यकक्षमा बोलाएर सोधपुछ पनि गरेका थिए । अदालतले पुनः त्यस्तो व्यवहार नगर्न चेतावनी दिदै कागज गराएर गिरीलाई छाडेको छ ।
उनका भाइलाई न्यायाधीश पोखरेलको इजलासले ७ वर्ष कैद र २ लाख रुपैंयाँ जरिवाना यसअघि नै तोकेको थियो । स्रोतका अनुसार गिरीका भाइले नातेदार पर्ने महिलासँग अनैतिक सम्बन्ध राख्दै भिडियो बनाएर महिलाका श्रीमान्लाई पठाएपछि पक्राउ परेका थिए ।
गिरीले यसअघि पनि इजलासमा अभद्र शैली देखाएको बताइएको छ । घुस दिएको भए आफ्नो भाइलाई निर्दोष बनाइन्थ्यो भन्दै उनी कराएकी थिइन् ।
न्यायाधीश पोखरेल कसैसँग जुनसुकै अवस्थामा पनि नरिसाउने व्यक्ति भएको कर्मचारीले बताएका छन् ।
महिलाले लामो समय उनलाई गाली गरे पनि उनी हाँसेरै इजलासबाट बाहिरिएका थिए । गिरीलाई लिखित कबुलियतनामा गराएर अबदेखि त्यस्तो ब्यवहार नदेखाउने सर्तमा छाडिएको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए ।
View : 18790
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved