Biratnagar, Morang, Nepal
१७ माघ २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

भारतीयले पैसा दिएर बैंक खाता खोलाएपछि...

सामाजिक सञ्जालको प्रयोग गरी युरोप र अमेरिका जस्ता मुलुकमा पठाउने विज्ञापन देखाएर अनलाइन ठगी गर्ने गिरोहले सर्वसाधारण नेपालीलाई बैंक खाता खोल्न लगाई ठगीको रकम ती खातामार्फत प्रयोग गर्ने गरेको पाइएको छ ।
उद्‌घोष सम्वाददाता
१६ माघ २०८१, बुधवार

Advertisement

विराटनगर । सानो रकमको प्रलोभनमा भारतीय नागरिकलाई बैंक खाता सञ्चालन गर्न दिनेहरु कारवाहीमा परेका छन् । सीमापारी भारतका मानिसले नेपालीको खाता प्रयोग गरेर नेपालीकै रकम ठगी गरेको पाइएको छ ।

ठगीमा संलग्न ब्यक्तिसँगै बैंक खाता प्रयोग गर्न दिने नेपालीहरु पनि प्रहरीको फन्दामा परेका छन् । 

सामाजिक सञ्जालको प्रयोग गरी युरोप र अमेरिका जस्ता मुलुकमा पठाउने विज्ञापन देखाएर अनलाइन ठगी गर्ने गिरोहले सर्वसाधारण नेपालीलाई बैंक खाता खोल्न लगाई ठगीको रकम ती खातामार्फत प्रयोग गर्ने गरेको पाइएको छ । 

बैंक खाता खोली दिए बापत सर्वसाधारण नेपालीले सामान्य रकम मात्र पाउने गरेका छन् ।

सो कार्यमा संलग्न भारत अररिया जिल्लाको जोगवनी–३ का २३ वर्षीय केशव यादव र खाता सञ्चालन गर्ने चार नेपाली पक्राउ परेका छन् । 

यादवले सामान्य रकम दिएर खाता खोल्न लगाएका मोरङ कटहरी–३ बस्ने २२ वर्षीय रोहितकुमार पासवान र ३० वर्षीय बुद्धनारायण मलाहा, विराटनगर–८ का २३ वर्षीय करण भन्ने अमित राय र पथरी शनिश्चरे–५ का २५ वर्षीय बोधराज राजंवशी पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–११ का महेशकुमार चौधरी र उनका छोरा युपेश चौधरीले सामाजिक संजालमा आएको वैदेशिक रोजगारीको विज्ञापनलाई देखेर पटक –पटक रकम पठाएका थिए ।

उनीहरुले पटक–पटक गरेर ६६ लाख ६७ हजार रुपैंयाँ तिरेपछि पनि विदेश नपठाएपछि ठगिएको हुन सक्ने जनाएर जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका थिए । चौधरीकै निवेदनका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले सामाजिक सञ्जालको दुरुपयोग गरेर सोझा नेपालीलाई झुक्याउने क्रम बढेका बेला एकै परिवारबाट यतिका रकम ठगी भएपछि उनीहरुको खोजबिन गरिएको बताए । 

ती भारतीय नागरिक यादव संगठित गिरोहका सदस्य हुनसक्ने प्रहरीको अनुमान छ । उनले दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने नेपालीहरुलाई बैंक खाता खोल्न लगाएर सामान्य रकम पनि दिएको पाइएको छ ।

सामान्य काम गर्नेहरुलाई रकम दिएर खाता खोल्न लगाई त्यसको प्रयोग भारतीयले गर्ने गरेकाले सर्वसाधारण भए पनि रकमका लागि विदेशीलाई बैंक खाता प्रयोग गर्न दिएकाले चारै जना नेपालीलाई कारवाहीको दायरामा ल्याइएको प्रहरीको भनाई छ । 

यस किसिमको अनलाइन ठगीबाट गएको छ महिनामा मोरङमा दुई सय जना भन्दा बढी  पीडित भएका छन् भने उनीहरुबाट सात करोड रुपैयाँ भन्दा बढी रकम ठगी भइसकेको बताइएको छ ।
 

View : 311

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved