विराटनगर । विराट नर्सिङ होमले स्वास्थ्य उपचार सेवालाई बिस्तार गर्दै कार्डियाक, न्यूरो र भास्कुलर इन्टरभेन्सनल रेडियोलोजीलाई एकै छानीमुनिबाट सञ्चालनका लागि अत्याधुनिक क्याथल्याब सेवा सुरु गरेको छ ।
तीनवटै विश्वस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउन नर्सिङ होममा क्याथ ल्याब सेवाको औपचारिक सुरुवात गरेको हो ।
विराट नर्सिङ होमका अध्यक्ष एवं सञ्चालक वरिष्ठ चिकित्सक डा.ज्ञानेन्द्रमानसिंह कार्कीले क्याथ ल्याब सेवाको शनिबार औपचारिक उद्घाटन गरे ।
सेवा सुरुवातसँगै आइतबारबाट क्याथ ल्याबमार्फत कार्टियाक, न्यूरो र भास्कुलर इन्टरभेन्सनलसम्बन्धि सवै सेवा सूचारु भएको चिकित्सा क्षेत्रका सरोकारवालाहरूलाई जानकारी दिइएको हो ।
नर्सिङ होमका वरिष्ठ मुटरोग विषेशज्ञ डा. डेनप्रसाद आचार्यले क्याथ ल्याबले मुटु रोगसम्बन्धि जटिल अवस्थाहरूलाई उपचारको प्रक्रियामा ल्याउन ठुलो अवसर सिर्जना गरेको बताए ।
उनले दिनप्रतिदिन मुटुरोगीको संख्या बढ्दै गएको अवस्थामा क्याथ ल्याब अति नै आवश्यक रहेको बताए ।
डा. आचार्यले हृदयघातको सम्भावित जोखिम तुरुन्तै पत्ता लगाउन क्याथ ल्याब सेवाले चमत्कारिक रुपमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
उनले शहरी र आरामदायी जीवनशैलीले मानिसलाई हर्ट अट्याक लगायत मुटुसम्बन्धि रोगहरू नजिक लगेको भन्दै जीवनशैलीमा सुधार आवश्यक रहेको सुझाव दिए ।
विराट मेडिकल कलेजका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहले पनि मुटुरोगीको संख्या बढ्दै गएकोले सचेतनाको अभियानसहित आवश्यक आधुनिक उपचारको खाँचो रहेको बताए ।
उनले विराट नर्सिङ होम र विराट मेडिकल कलेजको एउटै छानामुनिबाट विरामीहरुले मुटुरोगको उपचारका विश्वासको वातावरण बन्दै गएको दाबी गरे ।
डाक्टर रजनिश झाले मुटुरोग अहिले बुढेसकालमा मात्रै लाग्ने रोगमा सीमित नभएको अनुभव सुनाए ।
उनले चुरोट र हुक्का खाने, मादक पदार्थ सेवन गर्नेहरूलाई मुटु रोगको जोखिम उच्च हुने जानकारी दिए ।
नर्सिङ होमका निर्देशक निकिता कार्कीले अस्पतालको एउटै छानामुनिबाट कार्डियाक, न्यूरो र भास्कुलर इन्टरभेन्सनल रेडियोलोजीका विशेषज्ञ सेवा उपलब्ध गराउने कोशी र मधेश प्रदेशका लागि अति पायक पर्ने स्वास्थ्य संस्थाका रुपमा स्थापित भएको बताए ।
साथै, नयाँ क्याथ ल्याबले विराटनगरसहित नेपालका सीमावर्ती भारतीय नागरिकलाई समेत आधुनिक उपचार प्रदान गर्न सकिने उनले विश्वास व्यक्त गरे ।
View : 94
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved