एमालेमा कारवाही श्रृंखला
विराटनगर । पार्टीको शक्तिशाली पदमा पुगेका नेताहरूले आफ्ना आलोचकलाई कारबाही गर्ने श्रृङ्खला नेकपा एमालेमा जारी छ । यसको पछिल्लो शिकार बनेका छन्, भोजपुरका एमाले नेता कृपाशुर शेर्पा ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् पार्टी प्रदेश इञ्चार्ज शेरधन राईसँगको टकराव शेर्पाका लागि महंगो सावित भएको छ ।
राई मुख्यमन्त्री हुँदा उनकै स्वकीय सचिव रहेका मकर खड्का अध्यक्ष रहेको एमाले भोजपुर जिल्ला कमिटीले माथिल्लो कमिटीमा रहेका पूर्वमन्त्री शेर्पालाई कारवाही गरेको छ । शेर्पामाथि कारवाही गरेलगत्तै भोजपुरका दुई नेताहरूबीचको पुरानो विवाद फेरि बल्झिएको छ ।
नौ महिनाअघि लेखिएको फेसबुक स्टाटसका कारण एमालेले पूर्वमन्त्री शेर्पामाथि गरेको कारबाहीले कोशी प्रदेशका दुई प्रमुख नेता—शेरधन राई र शेर्पाबीच धेरै वर्षदेखि चलिरहेको विवाद फेरि सतहमा आएको हो ।
भोजपुर जिल्ला कमिटीले शेर्पाको स्टाटसलाई ‘पार्टीविरूद्धको गतिविधि’ ठहर गर्दै उनलाई छ महिनाका लागि निलम्बन गरेको हो । महाधिवेशनको मुखैमा कारवाही गरेर शेरधन राई पक्षले आफूलाई रोक्न खोजेको शेर्पाको आरोप छ ।
शेर्पाले मोरङ जिल्ला अधिवेशनको विषयमा लेखेका थिए । मोरङ अधिवेशनमा अध्यक्ष केपी शर्मा ओली निकट प्यानल पराजित हुँदा विनोद ढकाल पक्षको प्यानल नै विजेता बनेको थियो ।
यो २०८१ फागुन तेस्रो साताको कुरा हो । मोरङको चुनावी नतिजा आएपछि शेर्पाले सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई लिएर जिल्ला कमिटीले पटक–पटक स्पष्टीकरण माग्दै आइरहेको थियो । सोही विषयमा मंसिर ५ को सचिवालय बैठकले कारबाही गरेको थियो ।
मोरङमा संस्थापनइतर प्यानल विजयी भएपछि शेर्पाले लेखेका थिए— ‘मोरङका कमरेडहरू सचेत रहेछन्, भोजपुरमा जस्तो उधारो पदको लोभमा कोही नफसेकाले खेलाडीको खेल तुहाएछन् । मज्जा लाग्यो । सलाम कमरेडहरू !’
चुनावी नतिजाबारे सामाजिक सञ्जालमा टिप्पणी गरेकै आधारमा पूर्वमन्त्री शेर्पाले कारवाही भोगेका छन् । उनको उक्त अभिव्यक्तिले भोजपुरका निर्वाचित नेतृत्व र कार्यकर्तालाई लक्षित गर्दै अपमान गरेको दाबी गर्दै स्पष्टीकरण सोधेको थियो ।
तर, उनीबाट प्राप्त जवाफ सन्तोषजनक नरहेको भन्दै पार्टीले निलम्बनको निर्णय गरेको थियो । कारबाही सार्वजनिक भएपछि शेर्पाले आफू पार्टीको संघीय मामिला तथा केन्द्रीय प्रशासन विभाग र राष्ट्रिय परिषद् सदस्य भएकाले तल्लो संरचनाले कारबाही गर्नै नसक्ने दाबी गरेका छन् ।
‘म माथिल्लो तहको जिम्मेवारीमा छु, तल्लो तहले कारबाही गर्न मिल्दैन’ शेर्पाले भने, ‘यो कारबाही पूर्वाग्रहसहित गरिएको हो ।’
निलम्बनको निर्णयपछि उनी भक्तपुरको गुण्डु पुगेर अध्यक्ष ओलीलाई भेटेका छन् । भृकुटीमण्डपमा भएको पार्टीको आमसभामा पनि उनी सहभागी भएका थिए ।
शेरधन राई र कृपाशुर शेर्पा दुवै भोजपुरका भए पनि सम्बन्ध भने शेर्पा पर्यटन मन्त्री बनेयता बिग्रिएको स्थानीय नेताहरू बताउँछन् ।
शेर्पाले आफू मन्त्री हुँदा आफ्नो छोरासम्बन्धी विवादलाई अनावश्यक रूपमा बाहिर ल्याएर बदनाम गर्न शेरधनले प्रयास गरेको आरोप लगाउँदै आएका छन् । उता राईले पनि युवा संघका एक कार्यकर्ता बालिका खड्कामार्फत शेर्पाले आफूमाथि आरोप लगाउने वातावरण बनाएको दाबी गर्दै आएका छन् ।
शेर्पाले आफूलाई ११औं महाधिवेशनमा प्रतिनिधि भएर सहभागी हुन नदिन योजनाबद्ध रूपमा कारबाही गरिएको आरोप पनि लगाएका छन् । ‘माइन्युटसमेत नभएको सुनिन्छ’ उनले भने, ‘महाधिवेशनमा जानै नदिने गरी रचिएको खेल हो ।’
जिल्लाले कारबाही गरे लगत्तै अध्यक्ष ओली आफूमाथि भएको कारबाहीका बारे ओलीले हेर्ने आश्वासन दिएको शेर्पाले बताए । पछिल्लो समय एमालेमा कारबाही क्रम तीव्र भइरहेको छ ।
साता अघिमात्रै एमाले कोशीले इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीलाई सामाजिक सञ्जाल र मिडियामा पार्र्टीविरोधी प्रचारबाजी गरेको आरोपमा ६ महिनाका लागि निलम्बन गरेको थियो ।
सुनसरीका बद्रीविशाल पोखरेल र काशीनाथ दंगाललाई पार्टी हित विपरीत गतिविधिको आधारमा स्पष्टीकरण समेत सोधिएको छ ।
झापाका सल्लाहकार मनोरथ तिवारीलाई ‘जेनजी आन्दोलन’ मा संलग्न भएको भन्दै कारबाही गरेको छ ।
View : 381
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved