Biratnagar, Morang, Nepal
१० वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
समाज

शौच गर्न गएकी युवतीमाथि सामूहिक बलात्कार,  तीन अभियुक्त सार्वजनिक

तीन युवकहरूको समूहले पीडित युवतीलाई घर पछाडि रहेको जुडी खोलामा शौच गर्न गएको समयमा  पछाडिबाट मुख छोपेर अपहरण गरी बलपूर्वक सिटी सफारीमा राखेर लगेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
उद्‌घोष सम्वाददाता
१२ पुष २०८१, शुक्रवार

विराटनगर । शौच गर्न खोलातिर गएकी मोरङ कटहरी गाउँपालिका–३ की एक २२ वर्षीय युवतीलाई बलात्कार गरी हातखुट्टा बाँधेर मुखमा कपडा कोचिदिएर छाड्ने एक भारतीय युवकसहित तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंगलबार बिहान साढे ४ बजेको समयमा कटहरी–२ कदमगाछीस्थित बाँसघारी नजिक खेतमा लगेर ती युवकहरूले युवतीको सामूहिक बलात्कार गरेको खुलेको छ ।

पीडित ‘विराटनगर ६३’ (परिवर्तित नाम) लाई उनीहरूले दुबै हातखुट्टा बाँधेर बलात्कार गरी र मुखमा कपडा कोचेर छाडेको अवस्थामा स्थानीयले युवतीलाई अर्धचेत अवस्थामा फेला पारेका थिए ।

घटनास्थलबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पीडित युवतीको उद्धार गरी अहिले कोशी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको अररिया जिल्ला कुसकिट्टा ग्राम पञ्चायत–९ हस्तचोकका १८ वर्षीय महमद गुल्जरसहित कटहरी गाउँपालिका–२ का २० वर्षीय महमद रमजान र १९ वर्षीय सुनिलकुमार साह रहेका छन् । बलात्कारमा संलग्न भारतीय युवक गुल्जर हाल कटहरी–२ को ग्यारेजमा काम गर्दै आएका थिए । तीनैजनालाई प्रहरीले मंगलबार नै पक्राउ गर्न सफल भएको हो । 

तीन युवकहरूको समूहले पीडित युवतीलाई घर पछाडि रहेको जुडी खोलामा शौच गर्न गएको समयमा  पछाडिबाट मुख छोपेर अपहरण गरी बलपूर्वक सिटी सफारीमा राखेर लगेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार संलग्न युवकहरूले पीडित युवतीलाई घरबाट करीव ३ किलोमिटर उत्तर पूर्वमा पर्ने बाँसघारीमा लगेर बलात्कार गरेको र हातखुट्टा बाँधेर मुखमा कपडा समेत कोचिएको अवस्थामा उद्धार गरिएको बताए ।

उनले पीडितसँगको प्रारम्भिक बयान तथा अनुसन्धानबाट बलात्कारमा संलग्न तीन युवकको पहिचान गरिएको जानकारी दिए । 

पक्राउ परेका तीनैजना युवकविरुद्ध अपहरण तथा शरीर बन्धक, ज्यान मार्ने उद्योग र जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

View : 262

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved