विराटनगर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको बागमती प्रदेश सञ्चालक समिति सदस्यका लागि भएको निर्वाचनमा परितोष पौडेल विजयी भएका छन्।
शनिबार भएको मतदानको अन्तिम मत परिणाम अनुसार प्रतिद्वन्द्वी रामशरण घिमिरेलाई २७५ मतान्तरले पराजित गर्दै पौडेल सञ्चालक सदस्यमा निर्वाचित भएका हुन्। विजयी पौडेलले १ हजार ८ सय २७ मत प्राप्त गर्दा घिमिरेले १ हजार ५ सय ५२ मत मात्र ल्याउन सके।
गत मंसिरमा सम्पन्न बैंकको साधारणसभा अन्तर्गत कुल ८ हजार ६ सय ७९ मतदाता रहेकोमा यस निर्वाचनमा जम्मा ३ हजार ३ सय ९३ मत खसेको थियो, जसमध्ये १० मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
बैंकको नियमावली अनुसार कुनै एक प्रदेशमा सञ्चालक सदस्य सर्वसम्मत नभएमा सातै प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नुपर्ने व्यवस्था छ।
अरू ६ वटा प्रदेशमा सदस्यहरू यसअघि नै सर्वसम्मत चयन भइसके पनि बागमती प्रदेशमा दुई जना आकांक्षी मैदानमा उत्रिएपछि शनिबार देशैभर मतदान गराउनुपरेको थियो।
यो व्यवस्थाका कारण प्रत्यक्ष सरोकार नभएका अन्य प्रदेशका मतदाताले समेत अनावश्यक सास्ती भोग्नुपरेको छ।
कोशी प्रदेशको मतदान केन्द्र विराटनगरमा तोकिएको थियो, जहाँ कुल १३ सय ९४ मतदातामध्ये जम्मा साढे ३९ प्रतिशत अर्थात् ५५१ जनाले मात्र मतदान गरे।
कोशीका १४ वटै जिल्लाका प्रतिनिधिहरू बागमती प्रदेशको उम्मेदवार चयनका लागि मतदान गर्न आउनुपर्दा समय र आर्थिक रूपमा निकै महँगो परेको भन्दै मतदाताहरूले तीव्र असन्तुष्टि जनाएका छन्।
बागमतीका उम्मेदवारबारे पर्याप्त जानकारी नहुँदा कोशीका मतदाता कुन उम्मेदवारलाई भोट हाल्ने भन्नेमा अन्योलमा समेत देखिन्थे। चाखलाग्दो कुरा त, कोशी प्रदेशको मत परिणाममा उपविजेता घिमिरेले २०३ मत पाएका थिए, विजयी पौडेलले ३४४ मत पाए ।
यहीकारण, आगामी दिनमा जुन प्रदेशको सञ्चालक सदस्य हो, त्यही प्रदेशका मतदाताले मात्र मतदान गर्न पाउने गरी निर्वाचन नियमावली तत्काल संशोधन गर्नुपर्ने माग चौतर्फी रूपमा उठेको छ।
जिल्ला सहकारी संघ मोरङका सदस्य सूर्य दाहालका अनुसार बैंकको नौ सदस्यीय सञ्चालक समितिमा प्रत्येक प्रदेशबाट एक-एक जना गरी सात जना र वित्तीय तथा सहकारी क्षेत्रबाट एक-एक जना गरी दुई जना मनोनित हुने व्यवस्था छ।
बागमतीबाहेक अन्य प्रदेशबाट सञ्चालक सदस्यहरू यसअघि नै सर्वसम्मत चयन भइसकेका छन्, जसमा कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती, मधेशबाट मन्दिरा आचार्य, गण्डकीबाट कमलादेवी गिरी, लुम्बिनीबाट विष्णुप्रसाद बराल, कर्णालीबाट कालबहादुर महतारा र सुदूरपश्चिम प्रदेशबाट मनमोहन विष्ट रहेका छन्।
त्यस्तै, तीन सदस्यीय लेखा समितिको संयोजकमा तारा गुरुङ तथा सदस्यद्वयमा युवराज पोख्रेल र ममताकुमारी साह पनि सर्वसम्मत निर्वाचित भइसकेका छन्। यसरी चुनिएका ७ प्रदेशका सदस्यहरूमध्येबाटै बैंकको केन्द्रीय अध्यक्ष चयन हुने कानुनी व्यवस्था छ।
जिल्ला सहकारी संघ मोरङका निर्वाचन समितिका सदस्य मनोज लामिछानेका अनुसार शनिबार देशका सातै प्रदेशका प्रमुख केन्द्रहरूमा मतदान सम्पन्न भएको थियो, जसमा कोशीको विराटनगर, मधेशको बर्दिवास, बागमतीको बत्तीसपुतली काठमाडौं, गण्डकीको नयाँसडक पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको खजुरा सुर्खेत र सुदूरपश्चिमको धनगढी कैलाली रहेका छन्।
निर्वाचन सम्पन्न भएपछि प्रतिक्रिया दिँदै दौतरी बलिया सहकारी संस्था लिमिटेड सुन्दरहरैंचा–४ मोरङका अध्यक्ष उमेश वस्तीले नयाँ नेतृत्वले सहकारीको बढीभन्दा बढी हितका लागि सहकारी बैंकमार्फत प्रभावकारी कार्य गर्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताए।
View : 142
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved