Biratnagar, Morang, Nepal
१८ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

नयाँ पुस्तासँग जीवन्त सम्बन्ध जोड्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

उद्‌घोष संवाददाता
१८ असार २०८३, बिहिवार

Advertisement

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्तासँग पार्टी र विचारको जीवन्त सम्बन्ध स्थापित गर्नुपर्ने बताएकी छन् । 

जननेता मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा बुधबार मदन भण्डारी फाउण्डेशनद्वारा विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताको आवश्यकता र रुचिअनुसार सिर्जनात्मक गतिविधिमा जोडिनुपर्ने बताइन् ।

उनले नेकपा एमालेको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको प्रक्रिया पार्टीभित्रको लोकतान्त्रिकरणको अभ्यासबाट अगाडि बढेको उल्लेख गरिन् । 

जनताको बहुदलीय जनवाद(जबज) आएपछि पार्टी जीवनलाई लोकतान्त्रिक बनाउने विषयमा बहस भएको र त्यसपछि नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको अवधारणा विकास भएको उनको भनाइ थियो ।

‘दुई कार्यकाल प्रमुख पदमा बसेपछि नेतृत्व हस्तान्तरण गर्ने र त्यसपछि पुस्तान्तरण हुने कुरा पार्टीले स्वीकार ग¥यो, त्यसपछि वास्तवमै हस्तान्तरण पनि भयो र पुस्तान्तरणको प्रक्रिया पनि अगाडि बढिरहेको छ,’ उनले भनिन्, ‘देशको भूगोल, इतिहास र संस्कृतिलाई नबुझ्ने व्यक्ति असल डाक्टर, वैज्ञानिक, इन्जिनियर वा नेता पनि बन्न सक्दैन ।’

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी फाउण्डेशनलाई बौद्धिक मञ्च र विचार केन्द्रका रूपमा अघि बढाउनुपर्ने बताइन् । उनले आन्तरिक जनवादसँगै संगठनात्मक अनुशासन पनि आवश्यक रहेको बताइन् । 

फाउण्डेशनमा सहभागी हुने विषयलाई फराकिलो ढंगले बुझ्नुपर्ने उल्लेख गर्दै उनले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्नेहरू यससँग जोडिन सक्ने बताइन् । 

‘यो आलोचना होइन, आत्मसमीक्षा र इतिहासको स्मरण हो,’ उनले भनिन्, ‘नयाँ पुस्ता र पार्टीबीच देखिएको दूरी घटाउनुपर्नेछ, म पनि १४–१५ वर्षको उमेरदेखि राजनीतिक यात्रामा जोडिएको हो, अहिलेको पुस्ता फरक क्षमता र सोच भएको पुस्ता रहेकोले उनीहरूलाई जोड्ने गरी अघि बढ्नुपर्छ ।’

उनले नयाँ पुस्तासम्म पुग्दा पार्टीको झण्डा वा संगठनको संरचनामात्र लिएर नभई सिर्जनात्मक गतिविधिमार्फत जोडिनुपर्ने धारणा राखिन् । 

डिजिटल युगमा आएको नयाँ पुस्तासँग जोडिन नयाँ शैली अपनाउनुपर्ने उनको भनाइ थियो । विगतमा पार्टी निर्माण प्रत्यक्ष सम्पर्क, सम्बन्ध र सिर्जनात्मक गतिविधिबाट भएको उल्लेख गर्दै उनले अहिले पनि त्यही प्रकारको जीवन्त सम्बन्ध आवश्यक रहेको बताइन् ।

‘नयाँ पुस्ता राजनीतिमा आउनु सकारात्मक कुरा हो, तर उनीहरू कसरी आए, पार्टी निर्माणको इतिहास र हाम्रो विरासत के हो भन्ने कुरा पनि बुझाउन आवश्यक छ,’ उनले भनिन् ।

मदन भण्डारी फाउण्डेशन मोरङका अध्यक्ष खड्गबहादुर बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा लगायत फाउण्डेशनसँग जोडिएका एमाले नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

View : 47

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved