Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

आँचलको ‘पाइपलाइन’ मा थुप्रियो फिल्म

उद्घोष सम्वाददाता
१८ माघ २०८०, बिहिवार

काठमाडौं । फिल्म असफल हुँदा त्यसको प्रभाव कलाकारको करिअरमा पर्ने विश्लेषण हुने गरेको छ । तर, अभिनेत्री आँचल शर्माको हकमा त्यसको ठीक विपरित देखिन्छ । गत बैशाखमा उनी अभिनीत फिल्म ‘नाईं नभन्नू ल ६’ प्रदर्शन भएको थियो । ब्रान्ड नामको बावजूद पनि यो फिल्म ‘डिजास्टर’ बन्यो, जुन आँचलका लागि ठूलो धक्का थियो । तर, यसले उनको करिअरमा भने असर पारेको छैन ।
यतिबेला आँचललाई फिल्म अफरको ओइरो छ । अहिले उनीसाँग ६ वटा फिल्म छन् । अघिल्लो हप्ता मात्र फिल्म ‘डिग्री माइला’को छायांकन सकाएकी उनले यसै साता दुईवटा फिल्म ‘पिताम्बर’ र ‘दुःखी आत्मा’ एकैदिन सम्झौता गरिन् । अब ‘पिताम्बर’मा प्रदीप खड्का र ‘दुःखी आत्मा’मा दयाहाङ राईसँग उनको जोडी बाँधिनेछ । त्यसो त ‘डिग्री माइला’मा पनि उनको जोडी दयाहाङ छन् ।
उनको ‘पाइपलाइन’मा ‘राजमहल’, ‘एक मुठ्ठी बादल’ र ‘बर एण्ड बधु’ गरी अरु तीन फिल्म पनि छन् । उनले सम्झौता गरेका प्राय फिल्म यसै वर्ष छायांकनको तयारीमा छन् । जसले गर्दा उनलाई समय तालिका मिलाउन सकस पर्ने देखिन्छ । त्यस्तै, ‘डिग्री माइला’ चैत ३० गतेबाट प्रदर्शन हुँदैछ । यसको प्रचारमा पनि उनी खटिनु पर्नेछ । यसरी हेर्दा अब उनलाई छायांकन र प्रचारको चटारो पर्नेछ ।

विवाहपछि अभिनेत्रीको करिअर संकटमा पर्छ भन्ने भाष्य बनेको अवस्थामा आँचलको व्यस्तताले त्यसलाई गलत सावित गरेको छ । आफूलाई ‘मेन्टल’ गर्नु पनि उनीप्रति मेकरको आकर्षण नघट्नु मुख्य कारण हो । अहिले उनको ‘पाइपलाइन’मा जति फिल्म छन् अरु अभिनेत्रीसँग छैन । यसले पनि उनको माग दर्शाउँछ । अब आँचलले करिअरलाई फरक ढंगले अगाडि बढाउन खोजेको देखिन्छ ।

View : 62

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved