सुनसरी, ६ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान प्रदत्त अधिकार संघीय सरकारले छिटो हस्तान्तरण नगरे संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।
सुनसरीको भोक्राहा नरसिंहमा निर्माण गरिएको ४०० केभीए विद्युत सबस्टेसनको शुक्रबार आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालकै अगाडि मुख्यमन्त्री कार्कीले प्रदेशलाई अधिकार दिन माग गरेका हुन् । उनले संविधानले दिएको अधिकार चाँडो हस्तान्तरण गरिदिन प्रधानमन्त्री दाहाललाई आग्रह गरे ।
'संविधानमा पाएको अधिकार हस्तान्तरण गरी तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीज्यूलाई आग्रह छ,' उनले भने, 'अधिकार हस्तान्तरण नगरिदिए संघर्ष गर्छु ।'
२५ मेगावाटसम्मको विद्युत प्रदेशले नै उत्पादन गर्न सक्ने र लाइसेन्स दिन सक्ने अधिकार भएपनि त्यो अधिकार अहिलेसम्म प्रदेशले नपाएको मुख्यमन्त्री कार्कीले गुनासो गरे । उनले भने, 'त्यसका लागि संघीय सरकार र संघीय संसदसँग सहकार्य संघर्ष दुवै गर्नुपर्ने छ ।'
सबस्टेसन उद्घाटनपछि कोशी प्रदेशमा रहेका उधोग तथा व्यवसायीको उत्पादनमा ढुक्क हुने अवस्था आएको मुख्यमन्त्री कार्कीले बताए । उनले निजी क्षेत्रलाई उत्पादनमा अग्रस्थानमा राख्न सकिएमा विकासको गति बढ्ने बताउँदै कोशी सरकारले निजी क्षेत्रलाई सहकारकै अभिन्न अंगका रुपमा लिएको उनले बताए ।
View : 153
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved