विराटनगर । प्रहरीले विराटनगर विमानस्थलबाट काठमाडौं पठाउनका लागि बोराभित्र प्याकिङ गरिएको कपडासहित दुईजनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा सोमबार बिहान मोरङ प्रहरीको टोलीले बिल बिजकभन्दा बढी रकमको साडी, कुर्ता सुरुवाल लगायतको एक लाख ७९ हजार ९०० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको जनाएको छ ।
प्रहरीले विमानस्थलको कम्पाउण्ड परिसरभित्र विराटनगरबाट काठमाडौंतर्फ पठाउन लागिएको उक्त कपडा प्याकिङ भइरहेको सूचना पाएको थियो ।
सोही सूचनाका आधारमा खटिएको प्रहरीले विराटनगर महानगरपालिका–४ राधामरमण मार्गस्थित शारदा अग्रवालको घरबाट सुनसरी देवानगञ्ज–७ का मनीष यादव र विराटनगर–४ का तनवीर मुस्ताकिनलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालले बताइन् ।
यादवले अग्रवालको घरबाट प्रदेश १–०४–००२ प ६५४० नम्बरको स्कुटरबाट कपडा ल्याएर छाडेका थिए । पछि अग्रवालको घरमा खानतलासी गर्दा प्र ०१–०४–००१ च १४५१ नम्बरको पिकअप गाडीमा लोड गरी राखेको एक लाख ७९ हजार ९०० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको जनाइएको छ ।
प्रहरीले कुर्ता सुरुवाल ४६ थान, उनी र कटनको कुर्ता ३० थान र सारी ८९ थान बरामद गरेको हो । पक्राउ परेका मुस्ताकिन भने उक्त पिकअपका चालक भएको प्रनाउ चुडालले जानकारी दिइन् ।
पक्राउ परेका दुवैलाई सवारी साधनहरूसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको प्रहरीले जनाएको छ ।
स्रोतका अनुसार अग्रवालले वर्षौंदेखि कपडा तस्करीको धन्दा चलाउँदै आएका थिए । उनले स्थानीय प्रहरी प्रशासनलाई मिलाएर राजस्व छली गरी कपडा ल्याउने र जहाज मार्फत काठमाडौं पठाउने गरेका थिए ।
मोरङमा प्रहरी प्रशासनको नयाँ नेतृत्व आएपछि सुराकीका आधारमा मंगलबार बिहान प्रहरी र प्रशासनले संयुक्त रुपमा विमानस्थल र अग्रवालको घरमा एकैसाथ छापा मारेको थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले राजस्व चुहावट नियन्त्रणलाई आफूले गम्भिर रुपमा लिएर कारवाही थालिएको बताए ।
उनले सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न आफूले प्रहरीको सहकार्यमा छुटै विशेष टास्क बनाएर अप्रेशन थालेको र मंगलबार विराटनगरमा भएको कारवाही त्यसैको सुरुवात भएको बताए ।
View : 230
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved