Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मैथिली लोकगीत संरक्षण गर्न ‘गीत–नाद’ हुने

उद्‌घोष संवाददाता
२० जेठ २०८३, बुधवार

विराटनगर । मैथिली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि ‘गीत–नाद ः मैथिली लोकगीत प्रतियोगिता’ आयोजना हुने भएको छ । 

मैथिली विकास अभियानले परम्परागत मैथिली लोकगीतको जगेर्ना गर्ने उद्देश्यसहित यो प्रतियोगिता गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

मिथिला क्षेत्रका महिलाहरूले समूहमा गाउने परम्परागत लोकगीतहरू मैथिल समुदायको संस्कार र पहिचानका महत्वपूर्ण आधार भएको भन्दै तिनै गीत संरक्षण गर्न प्रतियोगिता आयोजना गर्न लागिएको समाजका अध्यक्ष नवीन कर्णले जानकारी दिए । 

यस्ता गीतहरू पुस्तौंदेखि मौखिक परम्परामार्फत हस्तान्तरण हुँदै आए पनि आधुनिकताको प्रभावका कारण लोप हुने जोखिम बढेपछि प्रतियोगितामार्फत संरक्षणको काम अघि बढाइएको बताए ।

प्रतियोगितामा विराटनगर महानगरपालिका तथा आसपासका पालिकाका महिला गीत समूहहरूलाई सहभागी गराइने कर्णले जानकारी दिए । त्यसका लागि हालसम्म ३० भन्दा बढी महिला समूह सम्पर्कमा आएको जनाइएको छ ।

प्रत्यक्ष उपस्थित हुन नसक्नेहरूका लागि सामाजिक सञ्जालमार्फत पनि एक मिनेटको गीत पठाएर सहभागिता जनाउने व्यवस्था गरिएको उनले बताए ।

पहिलो चरणको छनौट जेठ २३ गतेमा हुनेछ । त्यहाँबाट छनौट भएका उत्कृष्ट १२ वटा समूहबिच प्रतिष्पर्धा भई सर्वोत्कृष्ट तीन समुहलाई नगदसहित पुरस्कृत गरिने अध्यक्ष कर्णले जानकारी दिए ।

अभियानले २०५० को दशकदेखि मैथिली भाषा, कला र संस्कृतिको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । 

विगतमा ‘भुमेत मिथिला’, ‘गाबैत मिथिला’ जस्ता सांगीतिक कार्यक्रम तथा ‘नवघर उठू, पुरान घर खसाय’ नामक मैथिली गीत एल्बममार्फत समुदायमा सकारात्मक प्रभाव पार्न सफल भएको जनाएको छ ।

हालै जानकी नवमीका अवसरमा विराटनगरमा भव्य दीपोत्सव सम्पन्न गरेको संस्थाले आगामी वर्षदेखि माता सीताको झाँकीसहित मैथिल पहिचान झल्किने सांस्कृतिक ¥याली निकाल्ने घोषणा समेत गरेको छ ।

View : 152

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved