Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पहाडका माविमा पूर्वाधार र आईसीटी निर्माण गर्ने मुख्यमन्त्री कार्कीको घोषणा

उद्‌घोष संवाददाता
१० कार्तिक २०८२, सोमवार

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सवै माध्यमिक विद्यालयहरूमा पूर्वाधार निर्माण र सूचना तथा सञ्चार प्रविधि (आईसीटी) स्थापना गरिने बताएका छन् ।

आइतबार धनकुटाको सहिदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालयमा खेतान फाउण्डेशनको सहयोगमा निर्माण सम्पन्न गरिएको आठ कोठे भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले त्यसका लागि १० बर्षे योजना अघि सारेका हुन् । 

उनले खेतान फाउन्डेसन लगायतका विभिन्न दातृ संस्थासँगको सहकार्यमा कोशी प्रदेशमा १० वर्षभित्र पूर्वाधार र आईसीटी (सूचना र प्रविधि) स्थापनाको काम गरिसक्ने दाबी गरे । साथै, प्रदेश सरकार शिक्षा क्षेत्रको सुधारका लागि अगाडि बढेको पनि उनले घोषणा गरेका छन् ।

ठाकुरदेवी माविको भवन ९२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ । भवन निर्माण भएपछि कम्प्युटरसहितको पूर्वाधारयुक्त विद्यालय स्थापनामा सहयोग पुगेको हो । 

मुख्यमन्त्री कार्कीले आफूले आफ्नो निर्वाचन क्षेत्रमा कार्यक्रम नलगी सहिदहरूको सम्मान र त्यस क्षेत्रको विकास गर्न खेतान फाउण्डेशनलाई आग्रह गरिएको र सहिदभूमि गाउँपालिकासँगको सहकार्यमा पूर्वाधार निर्माण गरिएको बताए ।

उनले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका करिव ५०० वटा विद्यालयको पूर्वाधार र आईसीटी निर्माण गर्न चालु आर्थिक बर्षभित्रै समझदारी हुने दाबी गरे । 

उक्त योजना कार्यान्वयनका लागि करिब १५ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरिएको मुख्यमन्त्री कार्कीले बताए । 

खेतान फाउण्डेसनका संस्थापक सीपी खेतानले कोशी प्रदेशमा शैक्षिक सुधारमा सहयोग जारी राख्ने बताए । 

आइतबार नै सहिदभूमि गाउँपालिका र खेतान समूहसँगै सहकार्य गरिरहेको सीपी फाउन्डेसनबीच सहिदभूमि गाउँपालिकालाई नमुना पालिका बनाउने गरी समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ । 

जस अन्तरगत पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी र लघु उद्यमशीलता प्रवद्र्धन गरिने र त्यसका लागि करिव ३ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ ।

सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले धनकुटाको पछाडि पारेको सहिदभूमि गाउँपालिकालाई नमूना पालिकाको रुपमा स्थापित गर्न विभिन्न निकाय र प्रदेश सरकारमार्फत गरिएका घोषणा उपलब्धिमुलक हुनेमा विश्वस्त रहेको बताए ।

View : 335

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved