धरानमा चर्कियो पानीको महशुल विवाद:
इटहरी, २० साउन । धरानमा खानेपानी महशुल तथा अन्य शुल्कमा अत्यधिक वृद्धि गरेपछि अन्दोलित बनेका राजनीतिक दल र उपभोक्ताहरूले खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा तालाबन्दी गरेका छन् ।
धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको शुल्क र महसुलमा वृद्धि गरेको विरोधमा एक सातादेखि आन्दोलित उनीहरूले आइतबार दिनभर बोर्डको कार्यालय घेराउ गर्दै तालाबन्दी गरेका हुन् ।
तालाबन्दीमा सहभागीहरूले खानेपानीको समस्या समाधान गर्न नसकेको र उल्टै शुल्क र महसुल बढाएको भन्दै नगर प्रमुख हर्क साम्पाङ राईको राजीनामा समेत माग गरेका छन् ।
आन्दोलनकारीहरूले खानेपानीको समस्या समाधान गर्न नसके राजीनामा दिन माग गर्दै प्रदर्शन गरे । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख साम्पाङले आफूखुसी खानेपानीको शुल्क र महसुलमा वृद्धि गरेको विरोधमा धरानमा एक सातादेखि दैनिक आन्दोलन भइरहेको छ ।
खानेपानीको समस्या समाधान गर्ने एजेण्डासहित चुनावमा उत्रिएका साम्पाङ नगर प्रमुख भएपछि धरानमा खानेपानी जडान लगायतका शुल्कमा ९ हजार ९ सय प्रतिशतसम्म वृद्धि गरिएको छ ।
साउन १ गतेबाट लागु हुने गरी शुल्क र महसुलमा वृद्धि गरिएपछि राजनीतिक दल तथा नागरिक समाजले पुरानै शुल्क र महसुल कायम गर्न माग राख्दै आन्दोलनका कार्यक्रम सुरु गरेका हुन् । नगर प्रमुख भएपछि साम्पाङले खानेपानी व्यवस्थापन बोर्ड उपमहानगरको मातहतमा ल्याउँदै नगर प्रमुख नै अध्यक्ष हुने व्यवस्था गरेका थिए ।
खानेपानीको मुद्दा बोकेर निर्वाचित भएपछि कसैसँग सल्लाह नगरी शुल्क र महसुल वृद्धि गरेपछि धरानमा साम्पाङको चर्को आलोचना हुँदै आएको छ ।
खानेपानी महसुल वृद्धि गरिएकोबारे उपप्रमुख अइन्द्रबिक्रम बेघा सहित वडाध्यक्षहरूले आइतबार नै खानेपानी बोर्डका अध्यक्ष समेत रहेका साम्पाङलाई ज्ञापन पत्र बुझाएका छन् । साबिककै शुल्क र महसुल कायम गर्नुपर्ने भन्दै आन्दोलनरत १० राजनीतिक दलहरूले शुक्रवबार सबै वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।
नगरवासी र स्थानीय राजनीतिक दलको चर्को बिरोधसँगै आन्दोलन चर्किएपछि उपप्रमुख सहित वडाध्यक्षहरूले साम्पाङलाई ज्ञापनपत्र बुझाएका हुन् । नगर प्रमुख साम्पाङले भने ५६ करोड एडीबीको ऋण अघिल्लो कार्यकालका जनप्रतिनिधिहरूले लिएकाले त्यो ऋण तिर्न महसुल बढाउनु परेको बताउँदै आएका छन् ।
View : 177
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved