विराटनगर । १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल मोरङकी दीपा बिष्ट मंगलबार विराटनगरमा सम्मानित भएकी छन् ।
भारतको हैदराबादमा पुस २ देखि ५ गतेसम्म आयोजना भएको च्याम्पियनसिपमा आफ्ना अघिल्ला रेकर्डहरु तोड्दै ९० केजी तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी बिष्टलाई मोरङ स्ट्रेन्थलिफ्टिङ एशोसिएसनले सम्मान गरेको हो ।
मोरङको सुन्दरहरैंचा– ११ की बिष्टले हैदरावादस्थित लाल बहादुर शास्त्री रङ्गशालामा उक्त उपाधि उचालेकी थिइन् । च्याम्पियनसिपमा नेपालसहित भारत, भुटान, इरान, मलेसिया, किर्गिस्तान, अमेरिका लगायतका १६ राष्ट्रका खेलाडीले प्रतिष्पर्धा गरेका थिए । बिष्टले महिलातर्फ सबैभन्दा धेरै तौल उचालेर गोल्ड मेडलसहित उक्त उपाधि जितेकी हुन् ।
मोरङ स्ट्रेन्थलिफ्टिङ एशोसिएसनका अध्यक्ष नवनितराज प्रधानले बिष्टसहित सोही च्याम्पियनसिपमा सिल्भर मेडल प्राप्त गर्न सफल सुनसरीका कविर भगत प्रधानाङ्गलाई पनि सम्मान गरे । प्रधानले बिष्ट र प्रधानाङ्गलाई सम्मानपत्र र खादाले ओढाएर सम्मान गरेका हुन् ।
प्रतिष्पर्धामा सहभागी खेलाडीहरूले भने नेपालको झण्डा फहराएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत पदक भित्र्याएपनि ती प्रतियोगीताहरुमा आफ्नै स्रोत साधन र खर्च जुटाएर खेल्नु परेको गुनासो गरे । उनीहरूले तीनै तहका सरकारहरूले सहयोग नगरेको बताए । खेलाडीहरूले लगातार आफ्नो खर्चमा गएर मेडल प्राप्त गरेर देशको नाम उचा बनाएको भएपनि सरकारहरूले प्रोत्साहनसमेत नगरेको भन्दै दुखेसो पोखेका थिए ।
सुन्दरहरैंचाकी बिष्टले २०७९ भदौ २० मा किर्गिस्थानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आईबीपी) च्याम्पियनमा पनि आईबीपीतर्फ ७२ केजी तौल उचालेर नेपालका लागि स्वर्ण पदक प्राप्त गरेकी थिइन् ।
छोटो अवधिमा नेपालमा पनि यो खेलको विकास भएको र हालसम्म ४४ वटा जिल्लाहरूमा एशोसिएसन गठन गरेर स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस खेललाई अघि बढाउने प्रयास गरिरहेको सुनसरी स्ट्रेन्थलिफ्टिङ एशोसिएसनका सचिव विजयसिंह थेबेले बताए ।
दीपाले आइबीपीतर्फ सबैभन्दा ठुलो उपाधि हात पारेपनि प्रदेश सरकार अन्तरगतको कोशी प्रदेश खेलकुद विकास बोर्डले भने उनलाई अहिलेसम्म पनि बेवास्ता गर्दै आएको छ ।
‘हामीले आफ्नो प्रयासमा देशको नाम राख्दै आएका छौं, यो खेललाई छोटो समयमै लोकप्रिय बनाएका छौं’ सुनसरी स्ट्रेन्थलिफ्टिङ एसोसिएशनका अध्यक्ष समेत रहेका प्रधानाङ्गले भने, ‘खेलकुदमन्त्रीले १०औं राष्ट्रिय खेलकुदमा यो खेललाई समेट्ने प्रतिवद्धता जनाउनु भएकोले केही आशावादी भएका छौं ।’
उनले कोशी प्रदेश सरकारले भने अन्तर्राष्ट्रिय मेडल प्राप्त गर्दा समेत अहिलेसम्म खेलाडीहरूलाई नसम्झिएको भन्दै गुनासो गरे ।
‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी बिष्टले आफ्नो निजी खर्चमा हैदरावाद गएर खेल प्रदर्शन गरेको बताइन् । उनले मेहनतका साथ खेल प्रदर्शन गरेका कारण देशका लागि मेडल ल्याउन सफल भएको बताइन् ।
‘मैले ९० केजी तौल लिफ्टिङ गरेर यो उपाधि प्राप्त गरेको हो, अहिलेसम्म ७२ केजीमाथि महिला प्रतिस्पर्धीहरूले उठाउन सकेका छैनन्’ उनले भनिन्, ‘८५ केजी उचालेपछि गोल्ड मेडल प्राप्त गरें, त्यसपछि आफ्नै रेकर्डमा थप रेकर्ड कायम गर्ने सोच बन्यो, अनि ९० केजी उचालेर वर्ल्ड स्ट्रोङगेस्ट वुमन टाइटल जित्न सफल भएँ ।’
View : 215
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved