Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोइला तस्करीप्रति इँटा उद्योग व्यवसायीको आपत्ति

उद्‌घोष संवाददाता
१२ माघ २०८२, सोमवार

सुनसरी । कोशी अञ्चल इँटा उद्योग व्यवसायी संघले भारतबाट नेपाल भित्रिने कोइला आयात प्रक्रियामा भइरहेको अनियमितता, तस्करी र गुणस्तरहीन कोइलाको कारोबारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अनुसार सुनसरी र मोरङका इँटा उद्योग तथा अन्य सप्लायर्सले अमेरिकाबाट उच्च गुणस्तरको कोइला खरिद गरी भारतको हल्दिया पोर्ट (बन्दरगाह) हुँदै नेपाल भित्र्याउने क्रममा बाटोमै कोइला अदलबदल गर्ने, ट्रकको सिल तोडफोड गरी नक्कली (डुप्लिकेट) सिल प्रयोग गर्ने जस्ता गैरकानुनी गतिविधि भइरहेको जनाएको छ ।

संघले आइतबार पत्रकार समेलन गरी विगत केहीदिन अघिदेखि हल्दिया पोर्टबाट भारतीय नम्बरको तीनवटा सवारीसाधनमार्फत आएको कोइला परीक्षण गर्दा पोर्टमा गरिएको ल्याब परीक्षणभन्दा निकै कम गुणस्तरको पाइएको जनाएको छ । सो क्रममा केही ट्रक चालकले भारतमै राम्रो कोइला बिक्री गरी खराब कोइला नेपाल ल्याएको स्वीकार गरेको संघको दाबी छ ।

संघका अनुसार भारतमा कोइला तथा सिल खोल्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनि भारतीय भूमिमै कोइला अदलबदल हुनु र त्यसको प्रत्यक्ष असर नेपाली इँटा उद्योगीहरूलाई गम्भीर असर परेको र गुणस्तरहीन कोइला प्रयोग गर्न बाध्य हुँदा उद्योगहरू ठूलो आर्थिक क्षतिमा परेको संघको भनाइ छ ।

संघका अध्यक्ष खगेन्द्र श्रेष्ठले गलत कार्यमा संलग्न ट्रक र ट्रान्सपोर्ट कम्पनीमाथि छानबिन गरी कारबाही गर्न, कोइला आयात प्रक्रियालाई पारदर्शी बनाउन तथा उद्योगीहरूको हित संरक्षण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

View : 219

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved