Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

धार्मिक सहिष्णुता कायम राख्न सुनसरीमा सर्वपक्षीय सहमति

उद्‌घोष सम्वाददाता
२९ साउन २०८१, मङ्गलवार

सुनसरी । बंगलादेशमा भड्किएको हिंसाको असर पर्न नदिन र सामाजिक सद्भाव कायम राख्न सुनसरीमा सर्वपक्षीय सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको आयोजनामा सोमबार भएको सर्वपक्षीय बैठकमा बिभिन्न धर्मका धर्मगुरु, राजनीतिक दलका प्रतिनिधि, स्थानीय र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलगायत बिभिन्न क्षेत्रका सरोकारवालाहरूबीच भएको सर्वपक्षीय बैठकमा धार्मिक सहिष्णुता कायम राख्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सहमति भएको हो । 

बैठकले धार्मिक सद्भाव र सहिष्णुता कायम राख्नको लागि सबै पक्षलाई सार्वजनिक आह्वानसमेत गरेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । परम्परागत चाडपर्व मनाउनेदेखि बाहेक प्रशासनको अनुमति बिना विभिन्न किसिमका धार्मिक भेला तथा सभासमेत नगर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए । 

सो बैठकले सुनसरीको धरान लगायतको क्षेत्रमा पछिल्लो समय भैरहेको गतिबिधिबाट सामाजिक सद्भाव खलबलिन नदिन आगामी साता धार्मिक सद्भाव र्याली निकाल्ने निर्णयसमेत गरेको छ ।

जिल्ला समन्वय समिति सुनसरीका प्रमुखको नेतृत्वमा निकालिने र्‍यालीमा बिभिन्न धर्मका धर्मगुरु, सुरक्षा निकाय, जनप्रतिनिधि, नागरिक समाजलगायत बिभिन्न क्षेत्रका अगुवाहरूको सहभागिता रहने बताइएको छ ।  

बंगलादेशमा अल्पसंख्यक समुदायमाथि भइरहेको आक्रमण रोक्न नेपालका बिभिन्न ठाउँमा प्रदर्शन भएपछि आह्वान गरिएको बैठकमा प्रशासनले सीमा क्षेत्रमा बिशेष निगरानी गर्ने तथा कुनै पनि तेस्रो मुलुकका नागरिकको प्रवेशमा कडाइ गर्ने सहमति भएको छ ।

सुनसरी प्रशासनले सामाजिक सद्भाव भड्किन नदिन सामाजिक सञ्जालमा जथाभावी लेख्ने बिरूद्ध अनुसन्धान तथा कार्वाही प्रक्रिया सुरू गरिसकेको प्रजिअ तिवारीले जानकारी दिए ।

View : 105

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved