Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

नबिलको सामाजिक उद्यमशिलता तालिम सम्पन्न

उद्‌घोष संवाददाता
१४ असार २०८२, शनिवार

विराटनगर ।  महेन्द्र मोरङ क्याम्पस र नविल बैंकको सहकार्यमा सञ्चालित नविल सामाजिक उद्यमशिलता ‘नविल एसएसई’ तीन महिने सातौ समूहको प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई शनिबार प्रमाणपत्र वितरण गरिएको छ । 

युवाहरूलाई नविल बैंकले सामाजिक उद्यमशिलताको क्षेत्रमा अगाडि बढाउने उद्देश्यले सञ्चालित सो तालिममा सहभागी २३ प्रशिक्षार्थीलाई एक समारोहका बीच प्रमाणपत्र वितरण गरिएको नबिल एसएसई कोशी प्रदेश संयोजक वेदप्रसाद संग्रौलाले बताए ।
कार्यक्रममा युवा उद्यमी अम्बिका भण्डारीले युवाहरु विदेश पलायन भैरहेको अवस्थामा बैंकले उद्यमशिलताको तालिम सञ्चालन गर्नु सराहनीय भएको बताइन् ।

महेन्द्र मोरङ क्याम्पसका सहायक प्रमुख शिवनारायण चौधरीले तालिममा सहभागीहरुलाई नबिलले दिएको उद्यमशील तालिम व्यवहारिक रुपमा प्रयोग गर्न सल्लाह दिंदै अन्य जागिर खानु भन्दा उद्यम गर्नु उत्तम हुने धारणा राखे । 

नबिल बैंकका कोशी प्रदेश प्रमुख दीपक श्रेष्ठले बैंकले आफ्नो मुनाफाको एक प्रतिशतबाट कुनै न कुनै सामाजिक कार्य गर्नै पर्ने र सो अन्तर्गत उद्यमशील तालिम गराइएको बताए । सातै प्रदेशमा यस किसिमको तालिम गराइरहेको र अझ माथिल्लो तहको तालिम पनि काठमार्डौंमा गराइ रहेकोले सोमा इच्छुकले सहभागिता जनाउन सक्ने पनि जानकारी दिए ।  

सहभागीहरुको तर्फवाट पूजन न्यौपानेले आफूले स्नातकोत्तर गरिसक्दा पनि प्राप्त गरेको ज्ञान नबिलको उद्यमशील तालिमले सिकाएको भन्दै आयोजकप्रति कृतज्ञता ज्ञापन गरे । 
सो अवसरमा कोशी प्रदेशका मुख्य मन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदीले उद्यमशीलता विकासका लागि नविलले युवाहरुको लागि गरेको तालिम प्रशंसनीय रहेको धारणा राखे । 

 

View : 436

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved