विराटनगर । लामो समयदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट खुला भएसँगै विराटनगर महानगरपालिका क्षेत्रभित्र घरजग्गा कारोबारले पुनः गति लिने भएको छ ।
महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणको काम पूरा गरी अन्तिम प्रतिवेदन नापी कार्यालयमा पठाएसँगै कित्ताकाटको बाटो खुलेको हो ।
भू–उपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया पूरा नहुँदा लामो समयदेखि प्रभावित हुँदै आएको जग्गाको कित्ताकाट अब अघि बढ्ने भएको छ ।
महानगरपालिकाले आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा गरी वर्गीकरणसम्बन्धी विवरण सम्बन्धित कार्यालयमा पठाएपछि जग्गाधनीलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले २०८३ कात्तिक २७ गते नापी कार्यालय विराटनगरलाई पत्र पठाउँदै भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन कार्यान्वयन गर्न अनुरोध गरेको हो ।
नगर कार्यपालिकाको २०८३ असोज २३ गतेको निर्णयअनुसार भू–उपयोग परिषद्बाट स्वीकृत आधार तथा मापदण्डका आधारमा तयार पारिएको वर्गीकरण विवरण नापी कार्यालयमा पठाइएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले प्रतिवेदनसँगै १९ वटै वडाको विवरण समेटिएको विद्युतीय तथ्यांक फाइल तथा तथ्यांक भण्डारण प्रणालीसम्बन्धी आवश्यक कागजातसमेत नापी तथा भूमि प्रशासन कार्यालयमा उपलब्ध गराएको छ ।
वर्गीकरणको विवरण आधिकारिक रूपमा सम्बन्धित कार्यालयमा पुगेपछि कित्ताकाटसम्बन्धी काम अघि बढाउन बाटो खुलेको हो ।
कित्ताकाट रोकिँदा जग्गा किनबेच, अंशबन्डा, जग्गा विभाजन तथा अन्य घरजग्गासम्बन्धी काममा समस्या भोग्दै आएका सर्वसाधारणलाई यसबाट सहजता हुने अपेक्षा गरिएको छ ।
एक महिनाभित्र भू–सेवा सञ्चालन गर्ने तयारी
जग्गाको कित्ताकाट खुलाउने प्रक्रियासँगै विराटनगर महानगरपालिकाले भू–सेवा सञ्चालनको तयारीलाई पनि तीव्रता दिएको छ । महानगर प्रमुख नागेश कोइरालाले आगामी एक महिनाभित्र भू–सेवा सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक तयारी भइरहेको बताएका छन् ।
कोइरालाका अनुसार भू–सेवा सञ्चालनमा आएपछि जग्गासम्बन्धी प्रशासनिक कामलाई थप व्यवस्थित, पारदर्शी र छिटोछरितो बनाउन सहयोग पुग्नेछ । प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सेवाग्राहीले अनावश्यक झन्झट र समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने महानगरको योजना छ ।
‘महानगरपालिकाभित्र भू–उपयोग वर्गीकरणको काम पूरा गरेर आवश्यक विवरण सम्बन्धित कार्यालयमा पठाइसकेका छौँ । अब जग्गाको कित्ताकाटसम्बन्धी कामले गति लिने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘भू–सेवालाई पनि आगामी एक महिनाभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेका छौँ । सेवाग्राहीले सहज, छिटो र व्यवस्थित सेवा पाउने वातावरण बनाउनु हाम्रो प्राथमिकता हो ।’
महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भू–सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी सुरु गरिएको बताए । उनका अनुसार प्रणाली सञ्चालनमा आएपछि जग्गासम्बन्धी विवरण व्यवस्थापन र सेवा प्रवाहमा सहजता आउनेछ ।
‘भू–सेवा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेका छौँ । प्राविधिक तथा प्रशासनिक व्यवस्थापनलाई व्यवस्थित गर्दै आगामी एक महिनाभित्र सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ,’ शर्माले भने, ‘यसबाट जग्गासम्बन्धी कामका लागि सेवाग्राहीले भोग्दै आएका झन्झट कम हुनेछन् र सेवा प्रवाह थप छिटो, सहज तथा प्रभावकारी बन्नेछ ।’
घरजग्गा कारोबारमा सुधार आउने अपेक्षा
विराटनगर महानगरपालिकाका १९ वटै वडाको भू–उपयोग वर्गीकरण पूरा हुनु र कित्ताकाटको प्रक्रिया खुल्नु घरजग्गा क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
कित्ताकाट रोकिँदा जग्गा किनबेच, जग्गा विभाजन तथा अन्य कानुनी प्रक्रियामा समस्या झेल्दै आएका जग्गाधनीलाई यसले राहत दिने महानगरका सूचना अधिकारी अर्जुन थपलियाले बताए ।
कित्ताकाट खुला भएसँगै लामो समयदेखि रोकिएका जग्गासम्बन्धी काम अघि बढ्ने र घरजग्गा कारोबारमा देखिएको प्रशासनिक अवरोध हट्ने अपेक्षा गरिएको छ ।
विशेषगरी जग्गा अंशबन्डा गर्न, परिवारभित्र जग्गा छुट्याउन तथा किनबेचका लागि कित्ताकाटको प्रतीक्षामा रहेका सेवाग्राहीलाई यसले सहजता प्रदान गर्नेछ ।
पछिल्लो समय घरजग्गा कारोबारमा देखिएको सुस्तताका बीच कित्ताकाट खुल्नुले बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यवसायी तथा जग्गाधनीको छ । त्यसमाथि महानगरपालिकाले एक महिनाभित्र भू–सेवा सञ्चालन गर्ने तयारी गरेपछि जग्गासम्बन्धी प्रशासनिक सेवा थप व्यवस्थित र प्रविधिमैत्री हुने विश्वास गरिएको छ ।
भू–उपयोग वर्गीकरण, कित्ताकाट खुलाउने प्रक्रिया र भू–सेवा सञ्चालनलाई एकसाथ अघि बढाएर विराटनगर महानगरपालिकाले जग्गा प्रशासनसम्बन्धी सेवा सुधारको प्रयास गरेको छ ।
अब सम्बन्धित कार्यालयबाट वर्गीकरण विवरण कार्यान्वयनसँगै कित्ताकाटको काम प्रभावकारी रूपमा अघि बढ्ने र भू–सेवा सञ्चालनमा आएपछि सेवाग्राहीले थप सहज सेवा पाउने अपेक्षा गरिएको छ ।
View : 69
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved