विराटनगर । भोजपुर साङपाङको सामाजिक, शैक्षिक र सांस्कृतिक रूपान्तरणमा एकताबद्ध भई योगदान पु-याउने उद्देश्यका साथ ‘साङपाङे डबली समूह नेपाल’ को औपचारिक घोषणा गरिएको छ ।
सोही समारोहमा लेखक गणेशकुमार सुवेदीद्वारा रचित संस्मरणात्मक कृति ‘जन्मभूमि साङपाङ र कर्म अनुभूति’ को समेत लोकार्पण गरिएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–५ स्थित बूढीगंगा तटमा आयोजित एक विशेष साहित्यिक तथा सामाजिक समारोहका बीच कार्यक्रमका वयोवृद्ध द्वय सुवेदार मेजर मौलप्रसाद राई र पूर्वशिक्षक दुर्गाप्रसाद काफ्लेले संयुक्त रूपमा सो कृतिको विमोचन गरेका छन् ।
जन्मभूमिप्रतिको कर्तव्यबोध जगाउँदै छरिएर रहेका साङपाङेहरूलाई एउटै मञ्चमा गोलबद्ध गर्न समूहको स्थापना र कृति प्रकाशन गरिएको आयोजकले जनाएको छ ।
पुस्तकका लेखक सुवेदीकै सभापतित्व तथा राजेन्द्र किरातीको सहजीकरणमा सम्पन्न कार्यक्रमको प्रारम्भमा समूहको औपचारिक घोषणा गरिएको थियो ।
समारोहमा स्थानीय कला झल्कने स्वागत नृत्य प्रस्तुत गरिनुका साथै कार्यक्रम व्यवस्थापक लोकेन्द्र काफ्लेले अतिथिहरूलाई फूलमालाले स्वागत तथा सम्मान गरेका थिए ।
सोही अवसरमा श्री सरस्वती माध्यमिक विद्यालय, साङपाङ सत्तलको तर्फबाट लेखक सुवेदीलाई विशेष सम्मान अर्पण गरियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव राई र पूर्वप्रधानाध्यापक प्रकाशचन्द्र खतिवडाले लेखक सुवेदीलाई खादा र माला पहि¥याएर जन्मभूमिप्रतिको उहाँको बौद्धिक योगदानको कदर गरेका थिए ।
विमोचित कृतिमाथि समीक्षात्मक विश्लेषण प्रस्तुत गर्दै साङपाङ गाविसका पूर्वअध्यक्ष, लेखक तथा विश्लेषक भूमिदल राई र उच्च अदालत विराटनगरका अधिकृत कुमार सुवेदीले पुस्तकले साङपाङको ऐतिहासिक पृष्ठभूमि, सामाजिक परिवेश र लेखकका कर्मशील जीवनका भोगाइहरूलाई जीवन्त रूपले अभिलेखन गरेको टिप्पणी गरे ।
कार्यक्रममा सरस्वती मावि व्यवस्थापन समितिका अध्यक्ष माधव राईले साङपाङको वर्तमान सामाजिक–आर्थिक अवस्थाको चित्रण गर्दै गाउँमा रहेका बाँझो जग्गाको सम्भाव्यता अध्ययन गरी व्यावसायिक नगदे बाली लगाउन सबैमा आह्वान गरे ।
साथै, उनले विद्यालयको शैक्षिक वातावरण सुधारका लागि निर्माण हुन लागेको ‘बाल उद्यान’ अभियानमा हातेमालो गर्नसमेत आग्रह गरे ।
भजनकुमार सुवेदीले स्वागत मन्तव्य राखेको सो समारोहमा संविधानसभा सदस्य सावित्रीकुमार काफ्ले, कृतिका सह–प्रकाशक कुसुमकुमार राई, षडानन्द नगरपालिकाकी निवर्तमान उपप्रमुख मेरिका राई, साङपाङ गाउँ पञ्चायतका पूर्वउपप्रधानपञ्च मानबहादुर राई, सेवानिवृत्त कर्मचारी खेममणि काफ्ले र हस्तबहादुर तामाङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वक्ताहरूले जन्मभूमिप्रतिको अगाध प्रेम र सामूहिक एकताले नै गाउँको समग्र मुहार फेर्न सकिने धारणा राख्दै नवगठित डबली समूहको रचनात्मक सफलताको कामना गरे ।
समारोहमा सहभागीहरूका तर्फबाट शिव पराजुलीले रचना वाचनसहित आफ्ना अनुभूतिहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा साङपाङ स्थायी घर भई हाल विभिन्न पेसा, व्यवसाय र कर्मथलोमा रहेका समाजसेवी, बुद्धिजीवी तथा साङपाङप्रेमीहरूको उल्लेखनीय सहभागिता थियो ।
View : 248
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved