विराटनगर । हाउस लिफ्टिङ भनिने प्रबिधिबाट सामान्य फलामको बिम प्रयोग गरि होचो स्थानमा रहेका घरहरुलाई उचालेर नयाँ जगको निर्माण गरि उचाई बढाउन थालिएको छ । विराटनगरको बसपार्क नजिकै रहेको एक ब्यक्तिको साढे दुइ तले घरलाई मजदुरहरुले लिफ्टिङ प्रबिधिको प्रयोग गरि उचाल्ने काम गरिरहेका छन् ।
घर अगाडि राजमार्ग निर्माण भएपछि यो घर सडकभन्दा निकै गहिराईमा परेको थियो । जसका कारण बर्षातको बेला घर कोठामैं पानी पस्ने र जम्ने अवस्था थियो । उक्त समस्याको समाधान गर्न घरधनीले लिफ्टिङ प्रबिधिको प्रयोग गरि घरलाई अग्लो बनाइरहेका छन् ।
सो प्रबिधिबाट घरको जगको उचाई साबिकभन्दा ४ फिट अग्ल्याउने गरि एक भारतीय कम्पनीलाई जिम्मा दिइएको छ । भारत बिहारको सहरसामा रहेको एलबिएल हाउस लिफ्टिङ कम्पनीका प्राबिधिक र मजदुरहरुले उक्त घरको उचाई बढाउने काम गरिरहेका छन ।
त्यसका लागि कम्पनीका प्राबिधिकहरुले सामान्य फलामको बिम प्रयोग गरिरहेका छन । सवारी साधनको टायर पम्चर हुँदा प्रयोग गरिने फलामको बिम अर्थात जग प्रयोग गरेर यो अढाईतल्ले घर उचाल्ने काम हुँदैछ ।
भत्काएर नयाँ घर निर्माणमा लाग्ने खर्चको २५ प्रतिशत खर्चमा पुरानो घरलाई हाउस लिफ्टिङ गर्न सकिने निर्माण कम्पनीका ईन्जिनियर लालचन्द गुप्ताको भनाई छ । यो प्रबिधि भरपर्दो रहेको दाबी गर्दै उनले बितेको केहि बर्षमा आफुहरुको कम्पनीले यहि प्रबिधि प्रयोग गरेर काठमाडौं, जनकपुर, बिरगंज तथा विराटनगर समेत गरेर १ सय ५० बढी घरहरुको उचाई बढाई सकेको जानकारी दिए ।
दुइ महिनामा काम सक्नेगरि डेढ महिना अघिबाट यो काम शुरु गरेका प्राबिधिकहरुले फलामे बिमको प्रयोगगरि सो घर ४ फिट उचालि सकेका छन भने मुनिबाट नयाँ जगको निर्माण कार्य समेत गरिरहेका छन् ।
१ हजार ७ सय ५० स्क्वायर फिटको सो घर उचाल्न प्राबिधिकहरुले ३ सय बढी फलामको जग प्रयोग गरेका छन भने ३५ जना दक्ष मजदुर खटिएका छन् । आफुहरुले सुरक्षित र ग्यारेण्टी सहित घरहरु उचाल्ने काम गर्दै आएको प्राबिधिक राम भजनको भनाई छ ।
हाउस लिफ्टिङ कम्पनीले एकतले घर ४ फिटसम्म उचाल्न प्रति स्क्वायर फिट ३ सयका दरले शुल्क लिने गरेको छ । यस्तै दुईतले घर ६ सय रुपैया तथा ७ तले घर भए १५ सय रुपैंया स्क्वायर फिटको दरले चार्ज लाग्ने इन्जिनियर गुप्ताले जानकारी दिएका छन् । यो रकममा उनीहरुले नयाँ जगको निर्माण समेत गरिदिन्छन् ।
जग निर्माणमा लाग्ने ईट्टा, सिमेन्ट, डण्डी र बालुवा लगायतका सामग्री भने घरधनीले नै खरीद गर्नुपर्ने हुन्छ ।
View : 3610
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved