Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

विराटनगर विमानस्थलबाट हरेक महिना २७ हजारले चढ्छन् जहाज

उद्घोष सम्वाददाता
१६ पुष २०८०, सोमवार

विराटनगर । मुलुकका ५५ वटा विमानस्थलहरूमध्ये आन्तरिकतर्फ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ)बाट सबैभन्दा पहिले प्रमाणित भएको विराटनगर विमानस्थलबाट मासिक सरदर साढे २७ हजार बढी यात्रुहरूले जहाज चढ्ने र ओर्लने गरेको पाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण स्थापनाको २५औं वर्ष (रजत जयन्ती) पुगेको अवसरमा आइतबार आयोजित कार्यक्रममा विराटनगर विमानस्थल कार्यालयका प्रमुख निर्देशक रिन्जी शेर्पाले चालु वर्ष सन् २०२३ को ११ महिनामा मात्रै ६ लाख १३ हजार ३८७ यात्रुले विमानस्थल प्रयोग गरेको जानकारी दिए । डिसेम्बरको तथ्याङ्क आउन बाँकी रहेकोले यो संख्या अझै बढ्ने बताए ।

विराटनगर विमानस्थलबाट यात्रा गर्ने (चढ्ने र ओर्लने) यात्रुहरूको संख्या सन् २०१७ बाट क्रमशः बढ्दै गएको तथ्यांकमा देखिएको छ । सन् २०२० मा भने कोभिड-१९ कारण यात्रुको संख्या आधा घटेको थियो ।

उक्त वर्ष ५ हजार १७६ पटक मात्रै जहाज उडान अवतरण हुँदा २ लाख ९४ हजार ४०८ जना यात्रुले प्रयोग गरेको विराटनगर विमानस्थल अर्को वर्ष अर्थात सन् २०२१ मा १० हजार ७७६ वटा उडान अवतरण भएर ६ लाख ४४ हजार १०५ जना यात्रुले प्रयोग गरेका थिए । 

चालु आर्थिक वर्षको ११ महिनामा सरदर मासिक २७ हजार ८७८ जनाले विराटनगर विमानस्थलबाट जहाज चढेको विमानस्थलका निर्देशक शेर्पाले बताए । उनका अनुसार अघिल्लो वर्ष सन् २०२२ मा यो विमानस्थलमार्फत सबैभन्दा धेरै ७ लाख ५९ हजार ३५७ जना यात्रुले यात्रा गरेका थिए ।

जुन संख्या मासिक सरदर ३२ हजार ५५ र दैनिक १ हजार ६९ हुने उनले बताए । अघिल्लो वर्ष विराटनगर विमानस्थलबाट मासिक औसत ५६७ वटा जहाज उडान-अवतरण भएका छन् ।

सन् २०२३ को तथ्यांकअनुसार विराटनगर विमानस्थलमा ११ महिनामा ५ हजार ३७७ पटक जहाज अवतरण भएका छन् । ५ हजार ३ सय ७९ वटा उडान भएका छन् । यो संख्याअनुसार मासिक रुपमा ४ सय ८९ उडान र ४ सय ८८ पटक जहाज अवतरण भएका हुन् ।

२०२५ साल असार ९ गते पहिलो हवाई सेवा सञ्चालनमा आएको विराटनगर विमानस्थलमा हाल रात्रिकालीन उडान अवतरण समेत हुँदै आएको छ । विमानस्थलले सुरक्षित र भरपर्दो हवाई सेवा दिनका लागि तल्लीन रहँदै आएको जनाइएको छ ।

‘आन्तरिक विमानस्थलमा पहिलो सर्टिफाइड विराटनगर विमानस्थल नै हो, उड्डयन सुरक्षा पालनामा पनि ‘क्याटोगोरी भी’ स्तरको रेस्क्यु र फायर फाइटिङ सर्भिस छ,’ विमानस्थल प्रमुख शेर्पाले भने, ‘विमानस्थल प्रयोग गर्ने यात्रुहरूलाई बढीभन्दा बढी सुविधा दिन प्राधिकरण तल्लीन छ । अब भीआईपी कक्षको पुनर्संरचनाको काम पनि बढ्दैछ, यात्रु प्रतिक्षालयको पुनर्निर्माण अघि बढिसकेको छ ।’

उनले विमानस्थलमा स्याटेलाइटका माध्यमबाट जहाजहरू उडानका लागि समेत आधुनिक उपकरणहरू जडान भइसकेको जानकारी दिए । उक्त प्रविधिबाट जहाज उडाउनका लागि अवरोधका रुपमा रहेको विमानस्थलको पश्चिमतर्फका रुखहरू हटाउने काम भइरहेको बताए ।

हाल १ हजार ५०० मिटर लामो र २० मिटर चौडाइको धावनमार्ग, पार्किङ र ट्याक्सीवे रहेकोमा पूर्वतर्फ १७५ मिटर र पश्चिममा १०० मिटर धावनमार्ग विस्तारको काम सुरु भइरहेको जनाइएको छ । विराटनगर विमानस्थलबाट हाल बुद्ध, यति, श्री र सौर्य एयरलाइन्सका जहाजहरू नियमित उडान-अवतरण गर्दै आएका छन् ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले नेपालमा २०५५ सालपछि उड्डयन क्षेत्रको तीव्र विकास सुरु भएको जानकारी दिँदै विराटनगरमा विमानस्थल सबै प्रकारका नीति नियमको पालना गरेर सञ्चालन हुँदै आएको बताए । उनले निजी क्षेत्रको सहभागिताबिना सरकारी संस्थाहरूको क्षमता विकास नहुने भन्दै विमानस्थलसँग सम्बन्धित सबै क्षेत्रसँग समन्वय गरेर काम गर्नुपर्ने धारणा राखे ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वमहानिर्देशक गोविन्दप्रसाद दाहालले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको हब विमानस्थल भनिए पनि त्यसअनुसार सञ्चालन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले नेपालमा हाल १५ वटा देशका ३० वटा एयरलाइयन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएको र ५५ विमानस्थलमध्ये ४२ वटाको धावनमार्ग कालोपत्रे भएको पनि जानकारी दिए । विमानस्थलले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत जोड्ने भएकोले विराटनगर विमानस्थललाई अझ विस्तार र विकास गर्दै लैजानुपर्ने बताए ।

प्राधिकरणको रजत जयन्तीका अवसरमा विराटनगर विमानस्थल कार्यालयले आयोजना गरेको खुल्ला तथा भेट्रान दौड एवं ब्याटमिन्टन प्रतियोगिताका विजेता कर्मचारीहरूलाई पुरस्कार र ट्रफी प्रदान गरिएको थियो । सोही अवसरमा विमानस्थलका सेवानिवृत्त वरिष्ठ सवारीचालक श्रीप माझी थारुलाई बिदाइ गरिएको विराटनगर विमानस्थल कार्यालयका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए ।

कार्यक्रमका अवसरमा विराटनगर विमानस्थलका पूर्वनिर्देशक सुधीरकुमार चौधरी, निजी विमान कम्पनीहरूका तर्फबाट श्री एयरका स्टेसन मेनेजर अर्जुन कार्की, विराटनगर एसोसिएसन अफ ट्राभल्सका अध्यक्ष ज्ञानमणि नेपाल र बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र खनाललगायतले शुभकामना दिएका थिए ।

View : 139

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved