Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

राज्यलक्ष्मीको नाम रास्वपा उम्मेद्वार सूचीबाट हट्ने

उद्‌घोष संवाददाता
८ पुष २०८२, मङ्गलवार

विराटनगर । आकांक्षीहरुसँगको प्रारम्भिक छलफलमै सहभागी नभएपछि राज्यलक्ष्मी गोल्छाको नाम रास्वपाको समानुपातिक सूचीबाट हट्ने भएको छ । 

२०७० मा एमालेबाट समानुपातिक सूचीबाटै संविधानसभा सदस्य बनेकी उनको नाम यसपटक रास्वपाको सम्भावित उम्मेदवार सूचीमा थियो । 

रास्वपाले आयोजना गरेको प्रारम्भिक छलफलमै उनी अनुपस्थित रहेको र उनको नाम समावेश नहुने रास्वपाले जनाएको छ ।

‘शनिबार पार्टीले इटहरीमा छलफल राखेको थियो, उहाँ आउनुभएन’, रास्वपाकी नेता नीशा डाँगीले भनिन् ‘अब पार्टीले बनाएको नियम जे हो सोही अनुसार हुन्छ । रास्वपाले उम्मेदवार छनोट टाइमलाइन अनुसारका हरेक सामुहिक गतिविधिमा प्रारम्भिक उम्मेदवारहरुको सहभागिता अनिवार्य गरेको छ ।

रास्वपाले जारी गरेको सूचनामा भनिएको छ, ‘विशेष अवस्थामा सचिवालयले अनुमोदन गरेको हकमा बाहेक सहभागी नहुने व्यक्तिहरुको उम्मेदवारी प्रक्रिया स्वतः खारेज हुनेछ ।’ 

यही सूचना बमोजिम पनि गोल्छाको उम्मेदवारी प्रक्रिया खारेज हुने रास्वपा नेताहरुको भनाइ छ ।

रास्वपाले उनी आफैंले आवेदन दिएको बताउँदै आएको छ भने गोल्छाले पार्टीले नै आफ्नो नाम सूचीमा राखिदिएको बताउँदै आएकी छन् । रास्वपाबाट समानुपातिक उम्मेदवारीका लागि कोशी प्रदेशबाट मात्रै ६० जना आकांक्षीहरु छन् । 

उनीहरुमध्ये राज्यलक्ष्मी पनि एक हुन् । नेपालकै प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य एवम् हुलास वायरकी प्रमुख सञ्चालक उनी यसअघि एमालेबाट संविधानसभामा छँदा विवादमा परेकी थिइन् ।  

यसैबीच रास्वपाले मापदण्ड पु¥याएर आवेदन दिने सबैलाई समेटेर प्रारम्भिक सूची बनाएको र सबैसँग छलफल गरेको बताएको छ ।

View : 157

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved