काठमाडौं : चाडपर्वमा फिल्म रिलिज व्यावसायिक हिसाबले राम्रो मानिन्छ । यसपालिको दशैंमा रिलिज भएका दुई नेपाली फिल्म ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ ः भष्मे डन’को व्यापारले पनि यसलाई प्रमाणित गर्छ । यी दुवै फिल्मले दशैं विदाको फाइदा राम्रैसित उठाए । र, व्यावसायिक रुपमा पनि सफल ठहरिए । दशैंको माहोलमा दुवै फिल्मप्रति देशभरका हलमा दर्शकको ठूलो क्रेज देखिएको थियो ।
विदेशी फिल्मको चुनौतीका बावजूद दशैंमा दुई नेपाली फिल्म चम्किएका हुन् । ‘परदेशी २’ले रिलिजको सातौं दिनमा साउथ फिल्म ‘लियो’ र आठौं दिनमा बलिउड फिल्म ‘गणपत’सँग घरेलु बक्स अफिसमा चर्को प्रतिस्पर्धा गर्नुपरेको थियो । ‘पशुपति प्रसाद २’का लागि पनि दुवै भारतीय फिल्म चुनौती बनेको थियो । तर, यी दुई फिल्म कमजोर निस्किदा दर्शकको रोजाइमा नेपाली फिल्म परे ।
यसपालिको दशैं नेपाली फिल्मका लागि फलिफाप सावित हुँदा अब पखाई र चासो तिहारको छ । कात्तिक २५ गतेदेखि तिहार सुरु हुँदैछ, र ३० गतेसम्म तिहारको सार्वजनिक विदा छ । यही मौकामा ‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’ कात्तिक २४ गतेबाट प्रदर्शन हुँदैछ ।
पर्याप्त विदा रहेकाले फिल्मलाई व्यावसायिक सफलता हासिल गर्ने राम्रो अवसर छ ।
निर्देशक–निर्माताको टिमदेखि स्टारकास्टसम्म बलियो रहेकाले फिल्मले सुखद् ओपनिङ गर्न सक्ने प्रक्षेपण गरिएको छ ।
फिल्मलाई चुनौती भनेको दुई दिनपछि प्रदर्शनमा आउने हिन्दी फिल्म ‘टाइगर ३’ हो । यो फिल्मले ‘दिमाग खराब’को ठूलो मात्रामा शो खोस्न सक्छ । यो अवस्थामा फिल्मलाई सकारात्मक ‘वर्ड अफ माउथ’को साहरा आवश्यक पर्नेछ । अर्थात् फिल्म सशक्त हुन जरुरी छ ।
‘दिमाग खराब’मार्फत् निश्चल ६ वर्षपछि निर्देशनमा फर्किएका हुन् । यसैले फिल्मप्रति दर्शकमा उच्च अपेक्षा छ ।
किनकि, निश्चलले ‘लुट’बाट दर्शकको ठूलो विश्वास कमाएका छन् । त्यसयता उनको नामै फिल्म चल्ने एउटा आधार मान्ने गरिन्छ । तिहार पनि नेपाली फिल्मका लागि सुखद् बनेको अवस्थामा अर्को दशैं र तिहारमा फिल्म रिलिज गर्न निर्माताबीच ठूलो तछाडमछाड चल्ने निश्चित छ ।
View : 197
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved