विराटनगर, २५ मंसिर । विराटनगरको मधुमाराका एक युवकमाथि जोगवनीमा गोली प्रहार हुँदा उनी घाइते भएका छन् । किनमेलका लागि आइतबार साँझ जोगवनी गएका २७ वर्षीय निर्दोष संग्रौलामाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ ।
संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने समूहको पहिचान कारण खुल्न सकेको छैन । घाइते संग्रौलाको पारिवारिक स्रोतका अनुसार उनी किनमेलका लागि भनेरै जोगवनी गएका थिए ।
संग्रौलासँग जोगवनीस्थित नेपाल भारत सीमावर्ती गेट नजिकै केही युवकहरुसँग भेट भएको र त्यहाँ वादविवाद समेत भएको जनाइएको छ । सोही क्रममा आफूमाथि गोली प्रहार भएको उनले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले भारततर्फबाट नेपाली युवकमाथि गोली चलेको जानकारी दिए । उनले घटनाको अनुसन्धान सुरु भइरहेको बताए ।
View : 151
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved