धनकुटा । नेकपा एमाले धनकुटाले पार्टीको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाएको छ ।
प्रमुख निर्वाचन अधिकृत नहकुल राईको अध्यक्षतामा बसेको निर्वाचन समितिको बैठकले मंसिर १४ गतेसम्मको निर्वाचन तालिका सार्वजनिक गरेर प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाएको हो ।
कार्यतालिका अनुसार आइतबार मतदाता नामावली प्रकाशन गरिएको एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले जानकारी दिए । उनका अनुसार सोमबार साँझ ५ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय निर्धारण गरिएको थियो ।
मंगलबार दिउँसो १ बजेसम्ममा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १० गते बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन र दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोधको समय तोकिएको छ ।
११ गते दिउसो ४ः५० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने १३ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । यस्तै १४ गते मतगणना र सोही दिन ४ बजेपछि निर्वाचनको परिणाम घोषणा गर्ने योजना बनाइएको छ ।
सहमतिबाटै प्रतिनिधि छनोटको प्रयास गरिने र सहमतिबाट टुंगिन नसकेमा मतदान प्रक्रियाबाट प्रतिनिधि छनोट गरिने एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिए ।
धनकुटामा एमालेका ८ हजार २ सय ३६ पार्टी सदस्य छन् । जसबाट खुल्लातर्फ ७ जना, महिला ४ जना, ४० वर्षमुनिका युवा १ जना र एक जना दलित गरी महाधिवेशनका लागि १३ जना प्रतिनिधि छनोट हुनेछन् ।
View : 196
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved