राजमार्गमा लापसे परीक्षण
विराटनगर । दुर्घटना न्यूनीकरणको उद्देश्यसहित मोरङको बूढीगंगा गाउँपालिकाको नेमुवामा गरिएको लागूपदार्थ सेवन (लापसे) परीक्षणका क्रममा ११ जना सवारीचालकले लापसे गरी सवारी साधन कुदाएको फेला परेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, बुढीगंगा गाउँपालिका तथा विराट मेडिकल कलेज शिक्षण अस्पतालसँगको सहकार्यमा मंगलबार स्वास्थ्य शिविर र लापसे परीक्षण कार्यक्रम गरिएको हो ।
सो क्रममा शंकास्पद अवस्थामा सवारी साधन कुदाइरहेका ह्याभी तथा हलुका सवारीसाधनसहित मोटरसाइकल चालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।
५४ जना सवारीचालकहरूको जाँच गर्दा ११ जनाले लापसे सेवन गरी सवारी साधन कुदाएको फेला परेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख, प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए ।
आकस्मिक जाँचको क्रममा सबभन्दा बढी मोटरसाइकल चालकहरू लापसे गरी मोटरसाइकल कुदाएको फेला परेको थियो । ८ जना मोटरसाइकल चालकको जाँच गर्दा ६ जनाले लापसे गरेको भेटिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । यस्तै २ जना बस चालक, २ जना विंगर चालक र १ जना ट्यांकर चालकले समेत लापसे सेवन गरेको पाइएको छ ।
टोलीले १८ जना बस चालक, २ ट्रक, २ ट्यांकर, २ कार, ८ मोटरसाइकल, २ एम्बुलेन्स, १७ विंगर र ३ जना सिटी सफारी चालकको लापसे परीक्षण गरिएको थियो ।
लापसे गरेका सवारी चालकहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारवाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको मोरङ ट्राफिक प्रमुख लम्सालले जानकारी दिए ।
कार्यक्रममा ५० जना सडक प्रयोगकर्ता र ९३ जना चालक तथा सहचालकको समेत स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरूको आँखा तथा रक्तचाप जाँच गरिएको जनाइएको छ ।
शिविरमा जाँच गरिएका विरामीलाई आवश्यक औषधिसमेत निशुल्क वितरण गरिएको नेपाल औषधि ब्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीको प्रमुख आतिथ्यता तथा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर लगायतको उपस्थिति थियो ।
View : 66
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved