विराटनगर । नेपाली युवतीहरुलाई सामाजिक सञ्जालमार्फत ‘ब्ल्याकमेल’ गर्दै आएका एक भारतीय युवक विराटनगरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई विराटनगरको महेन्द्रचोक आसपासबाट पक्राउ गरेको जनाएको छ ।
भारतको जोगवनीका २६ वर्षीय रवि कुमारले नेपाली युवतीहरुमाथि सामाजिक सञ्जालबाट नजिकिएर यौन शोषण गर्ने गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए । उनलाई पक्राउ गरी आवश्यक थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ ।
पीडित युवतीबाट रविविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जरबजस्ती करणीको जाहेरी परेको थियो । जाहेरीका आधारमा प्रहरीले पक्राउका लागि अदालतबाट अनुमति लिएको थियो । काठमाडौं प्रहरीले मोरङ प्रहरीसँगको समन्वयमा रविलाई प्रक्राउ गरेको जनाएको छ ।
ती युवकले जोगवनीमा बसेर सामाजिक सञ्जालमार्फत युवतीहरुसँग सम्पर्क बढाएर नेपाली युवतीलाई जालमा पारी बारम्बार यौन शोषण गरेको आरोप छ । उनले युवतीसँग सम्पर्क बनाएर होटलमा बोलाउने, यौन शोषण गर्ने गरेको र त्यसको भिडियोसमेत बनाएर ‘ब्लाकमेल’ गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
उनले सामाजिक सञ्जालमार्फत अश्लिल भिडियो सार्वजनिक गरिदिने धम्की दिंदै आफ्नो लागि प्लेनको टिकट काट्न लगाउने र होटलका कोठा बुक गर्न लगाउने गरेको पाइएको छ । त्यसवापतको सबै खर्च युवतीलाई नै तिराउने गरेको पनि जनाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रविले हालसम्म १५ जनाभन्दा बढी नेपाली युवतीलाई जालमा पारेको जनाइएको छ । पछिल्लो पटक उनले विराटनगरमा एक युवतीलाई ‘ब्ल्याकमेल’ गर्दै ‘ट्रयापिङ’ गरेर विराटनगरमा बोलाएका थिए । युवतीलाई भेट्न आएको मौका छोपेर उनलाई पक्राउ गरिएको जनाइएको छ । उनीमाथि थप अनुसन्धान हुने प्रहरीको भनाइ छ ।
View : 203
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved