Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयमा आठ पदाधिकारी नियुक्त

उद्‌घोष संवाददाता
१ पुष २०८२, मङ्गलवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) ले विभिन्न रिक्त पदहरूमा आठ जना नयाँ पदाधिकारीहरू नियुक्त गरेको छ ।

विश्वविद्यालय कार्यकारी परिषद्को गत मंसिर २५ को निर्णय अनुसार नियुक्ति भएका ती पदाधिकारीहरूले मंगलबारदेखि नै आफ्नो पदमा कार्यभार सम्हालेका छन् ।

मोरङको गोठगाउँ स्थित उपकुलपतिको कार्यालयमा आज भएको पदस्थापना कार्यक्रममा उपकुलपति प्रा. डा. बिजु थपलिया र रजिष्ट्रार   प्राडा कल्याणी मिश्र त्रिपाठीले नवनियुक्त पदाधिकारीहरूलाई कार्यकुशलतापूर्वक आफ्नो दायित्व निर्वाह गर्न निर्देशन दिएका थिए ।

नवनियुक्त पदाधिकारीमा जी.पी. कोइराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टर, गोठगाउँको निर्देशकमा सहायक प्राध्यापक शन्निकुमार साह नियुक्त भएका छन् ।

यसैगरी पूविको सहपरीक्षा नियन्त्रकमा चार जना नियुक्त भएका छन् । यस सहपरीक्षा नियन्त्रकमा नियुक्त हुनेहरूमा उपप्राध्यापक कविता अधिकारी, उपप्राध्यापक मेनुका श्रेष्ठ, उपप्राध्यापक प्रमोदकुमार यादव र सहायक प्राध्यापक ईश्वर भण्डारी छन् ।

यसैगरी पूवि इन्जिनियरिङ संकाय, विराटनगरको सहडिनमा उपप्राध्यापक ई. देवलाल यादव र पूवि विज्ञान तथा प्रविधि संकाय, गोठगाउँको सहडिनमा उपप्राध्यापक नविन भट्टराई नियुक्त भएका छन्। यसैगरी उपकुलपतिको सल्लाहकारमा उपप्राध्यापक दिनेशराज सुवेदी नियुक्त भएका छन् ।

नियुक्त भएका पदाधिकारीहरूमा जी.पी. कोइराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टरका निर्देशकको कार्यकाल चार वर्षको छ भने अन्य सबैको कार्यकाल दुई वर्षको रहेको छ ।

विश्वविद्यालयले नवनियुक्त पदाधिकारीहरूले आजै (मंगलबार) देखि नै आ-आफ्ना कार्यालयमा पुगी जिम्मेवारी सम्हालेको जानकारी दिएको छ ।

View : 5845

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved