विराटनगर । विराटनगर महानगरपालिकालाई खेलकुदको सशक्त केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित वडा नम्बर १९ मा आइतबारदेखि ‘अन्तर वडास्तरीय मेयरकप फुटबल प्रतियोगिता’ सुरु भएको छ ।
स्थानीय तहबाटै प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगिताले विराटनगरमा फुटबल गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।
विराटनगर वडा नम्बर १९ ले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै महानगरका मेयर नागेश कोइरालाले भौतिक पूर्वाधार विकाससँगै खेलकुद, शिक्षा र सामाजिक क्षेत्रको समग्र विकासमा महानगर केन्द्रित रहेको बताए ।
उनले खेलकुद युवाको ऊर्जा, अनुशासन र पहिचानसँग जोडिएको क्षेत्र भएकाले महानगरले खेल गतिविधिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे ।
मेयर कोइरालाले यस्ता प्रतियोगिताले वडास्तरबाटै प्रतिभावान खेलाडी खोज्न र राष्ट्रियस्तरसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेले विराटनगरलाई ‘स्पोट्र्स सिटी’ का रूपमा विकास गर्ने दीर्घकालीन सोचअनुसार प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्नुका साथै लागुऔषध दुव्र्यसन र सामाजिक विकृतिबाट टाढा राख्ने उद्देश्य पनि प्रतियोगिताले बोकेको छ ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ३ का अध्यक्ष बासुबहादुर बस्नेत तथा एन्फाका पूर्व सहसचिव वसन्त अर्यालले खेलकुदप्रति युवाको आकर्षण बढाउन स्थानीयस्तरका प्रतियोगिता प्रभावकारी हुने बताए ।
उनीहरूले मोफसल फुटबलको विकासका लागि स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।
पोखरिया युथ क्लबको संयोजनमा सुरू भएको प्रतियोगितामा विराटनगरका १० वटा वडाको सहभागिता रहेको छ ।
प्रतियोगिता जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । विजेता टोलीले नगद ८० हजार रूपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ४० हजार रूपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
आइतबार भएको उद्घाटन खेलमा आयोजक वडा नम्बर १९ विजयी भएको छ ।
वडा नम्बर १ विरूद्धको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो ।
पेनाल्टीमा वडा नम्बर १९ ले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरूआत गरेको हो ।
View : 104
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved