Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

देशभरकै उत्कृष्ट बन्यो रंगेली अस्पताल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोशी प्रदेश स्वास्थ्य निर्देशनालय लगायतको मूल्यांकन टोलीले हरेक ६/६ महिनामा गर्ने मूल्यांकनका आधारमा रंगेली अस्पतालले ८६ अंक प्राप्त गर्दै देशभरका अस्पतालमध्ये उत्कृष्ट घोषित भएको हो ।
उद्‌घोष संवाददाता
३२ असार २०८२, बुधवार

विराटनगर । देशभरका प्राथमिक स्वास्थ्य संस्था (अस्पताल) मध्ये मोरङको रंगेली अस्पताल उत्कृष्ट घोषित भएको छ । 

स्थानीय तह मातहत रहेका देशभरका अस्पतालहरू मध्ये न्यूनतम् सेवा मापदण्ड सम्बन्धी सूचकको मूल्यांकनका आधारमा रंगेलीस्थित नगर अस्पताल उत्कृष्ट अस्पताल घोषित भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोशी प्रदेश स्वास्थ्य निर्देशनालय लगायतको मूल्यांकन टोलीले हरेक ६/६ महिनामा गर्ने मूल्यांकनका आधारमा रंगेली अस्पतालले ८६ अंक प्राप्त गर्दै देशभरका अस्पतालमध्ये उत्कृष्ट घोषित भएको हो ।

रंगेली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बसन्त साहले पालिकास्तरमा सञ्चालित प्राथमिक स्तरका १५ बेडको अस्पतालहरू मध्ये रंगेली अस्पताल उत्कृष्ट घोषित भएको जानकारी दिए । 

अस्पतालको गुणस्तर मापदण्ड मूल्यांकन गर्ने सूचकहरूको आधारमा सवैभन्दा धेरै अंक प्राप्त गरेका कारण उत्कृष्ट अस्पताल घोषित भएको उनले बताए ।

‘यस सम्बन्धी विभिन्न सूचक रहेका हुन्छन्, मूल्यांकन टिमले मूल्याकंन गरेका आधारमा प्राप्त अंक अनुसार उत्कृष्ट घोषित भएको हो’ उनले भने, ‘सुशासन, क्लिनिकल र मेनेजमेन्ट मापदण्ड हेरेर हरेक ६/६ महिनामा मूल्यांकन हुने गर्दछ, अघिल्लो पटक हामीले ८० अंक पाएका थियौं, यसपटक थप सुधार गर्दै ८६ प्राप्त भएकोले उत्कृष्ट भएका छौं ।’

अस्पतालको मूल्यांकनबाट उच्च अंक प्राप्त भएपछि रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले सवैको प्रयासबाट अस्पताललाई नमूना र उदाहरणीय बनाउने कार्य सफल भएको बताए । 

उनले नगरपालिकाले व्यवस्थापकीय भूमिका निर्वाह गरेका कारण राम्रो नतिजा आएको र आगामी दिनमा अझ व्यवस्थित, सुविधा सम्पन्न बनाउन लागिपर्ने बताए । 

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले रंगेली अस्पतालले स्वास्थ्य क्षेत्रको सुधारमा आन्तरिक र बाह्य रुपमा फड्को मारेको बताइन् । 

उनले स्थानीय तहहरू मातहत रहेका अस्पतालहरु मध्ये रंगेली अस्पतालको सुधार उल्लेखनीय रहेको जानकारी दिइन् ।

View : 799

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved