Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

जिल्लामा संस्थापन पक्ष बलियो नहुँदा

एमाले मोरङ अधिवेशन अझै अनिश्चित

‘कोशी प्रदेशमा मोरङबाहेक सबै जिल्ला कमिटी निर्वाचित कमिटीको हातमा पुगिसकेको छ । तर, मोरङमा भने आफू इतर पक्षलाई नेतृत्वमा पुग्न नदिनकै लागि अधिवेशनको मिति तोकिएको छैन ।’
उद्‌घोष सम्वाददाता
१७ पुष २०८१, बुधवार

विराटनगर । चर्को विवाद अनि नेताहरूको बद्नामीको श्रृंखला खेपिरहेको नेकपा एमाले मोरङको अविधेशन अझै पनि अनिश्चित नै छ । जिल्ला अधिवेशन गराउने मुख्य कार्यादेशसहित गठन भएको जिल्ला संगठन कमिटी  प्रदेश कमिटीको निगाहामा आफ्नो कार्यवधि लम्ब्याइरहन सफल बन्दै आएको छ । जबकि पार्टीको विधानले तोकिदिएको अवधि भने संगठन कमिटीले गुजारिसकेको छ । 

एमाले मोरङका तत्कालीन अध्यक्ष एवम् सांसद ऋषिकेश पोखरेलले अध्यक्ष पद छाडेपछि बाबुराम कार्की नेतृत्वमा गएको जेठ १८ मा मोरङ एमालेमा संगठन कमिटी बनेको थियो ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति पोखरेल पछिल्लो समयमा पत्नी अञ्जला कोइराला सहकारी ठगी प्रकरणमा मुछिएपछि विवादमा तानिएका छन् । अदालतले अञ्जलाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि पोखरेल पारिवारिक तनावले पिरोलिएका छन् । निवर्तमान अध्यक्ष यस्तो तनावमा परिरहँदा केही समयअघिसम्म उनैले नेतृत्व गरेको पार्टी कमिटी भने आन्तरिक कचिंगलको भासमा परेको छ । 

पछिल्लो समय मोरङ एमालेमा प्रष्टतः दुई समूह देखापरेको छ । लामो समयसम्म अध्यक्ष केपी शर्मा ओली निकट रहेका र अहिले पनि आफू सोही समूहमा रहेको बताउने नेता विनोद ढकाल र संस्थापन पक्षबीच मोरङमा शक्ति संघर्ष उत्कर्षमा छ ।

प्रदेश अध्यक्षमा ओली पक्षले घनश्याम खतिवडालाई साथ दिएपछि व्यवहारिक रुपमा सो समूहबाट अलग बनेर पूर्वराष्ट्रपति विद्या भण्डारी समूहमा पुगेका ढकाल र उनका समर्थकहरूमाथि  प्रदेश र जिल्ला नेतृत्व कठोर बन्दै आएको छ । 
विराटनगर महानगरका तत्कालीन अध्यक्ष सागर थापासहितका ढकाल निकटका नेताहरूलाई कारबाही गरेपछि सतहमा आएको विवादले जिल्ला अधिवेशनलाई पर धकेलिरहेको एमाले कार्यकर्ताहरू बताउँछन् ।

‘विधान पालना गर्ने हो भने बाबुराम कार्की नेतृत्वको संगठन कमिटीले यतिबेला अधिवेशन गरेर नेतृत्व निर्वाचित कमिटीलाई हस्तान्तरण गरिसक्नुपर्ने हो’, मोरङ जिल्ला कमिटीका एक नेताले भने ‘तर, अहिले नै अधिवेशन गर्दा विनोद ढकाल पक्षले नेतृत्व हात पार्ने भयले प्रदेश र जिल्ला नेताहरू त्रस्त छन् । त्यसैले जबरजस्ती संगठन कमिटीको म्याद लम्ब्याउने काम भइरहेको छ ।’

ढकाल निकट ती नेताले यसो भने पनि निर्वाचित कमिटी नभएको वा निर्वाचित कमिटीको अवधि समाप्त भएको अवस्थामा एक तह माथिल्लो कमिटीले कुनै पनि तहमा संगठन कमिटी निर्माण गर्न सक्ने पार्टी विधानले व्यवस्था गरेबमोजिम मोरङमा र विराटनगर महानगरमा संगठन कमिटी बनेको थियो । 

एमालेको विधान, २०४९ (प्रथम विधान महाधिवेशन, २०७८ र दशौं राष्ट्रिय महाधिवेशन, २०७८ बाट भएको संशोधनसहित) को  विधानको धारा ५२ मा ‘संगठन कमिटी’ बारे उल्लेख छ ।

उक्त धाराको पहिलो बुँदामा उल्लेख छ ‘नयाँ कार्यक्षेत्रमा पार्टी काम विस्तार गर्न वा निर्वाचित कमिटी नभएको वा निर्वाचित कमिटीको अवधि समाप्त भएको अवस्थामा एक तह माथिल्लो कमिटीले कुनै पनि तहमा संगठन कमिटी निर्माण गर्न सक्नेछ ।’  अर्को बुँदामा संगठन कमिटीको कामबारे उल्लेख छ । जहाँ उसको काम नै अधिवेशन गराउने हुनेछ भन्ने प्रष्ट उल्लेख छ ।

दोस्रो बुँदामा लेखिएको छ, ‘संगठन कमिटीको मुख्य काम आफ्नो अधिवेशन सम्पन्न गराउनु हुनेछ ।’ विधानअनुसार अधिवेशन सम्पन्न नहु“दासम्म निर्वाचित कमिटीका अधिकारहरू संगठन कमिटीले प्रयोग गर्ने र संगठन कमिटीको अवधि ६ महिनाको हुने उल्लेख छ । जेठ १८ मा बनेको कमिटीको अवधि पूरा भइसकेको छ ।

तर, विधानले ‘आवश्यकता परेमा एक तह माथिल्लो कमिटीले बढीमा ६ महिनाको अवधि थप्न सक्नेछ’ भन्ने पनि उल्लेख छ । विधानले ‘आवश्यक परेमा’ भनेको त्यही वाक्यांशको छिद्र प्रयोग गरेर प्रदेश कमिटीले मोरङ संगठन कमिटीलाई निरन्तरता दिइरहेको छ ।

‘अहिले प्रदेशमा ढकाल विरोधी घनश्याम खतिवडाको नेतृत्व छ, उनी आफूलाई जिताउन सहयोग गर्ने नेताहरूले भनेभन्दा दायाँबायाँ गर्ने अवस्थामा छैनन्’, प्रदेश कमिटीका एक सदस्यले भने ‘सोहीअनुसार उनले मोरङ कमिटीलाई निरन्तरता दिइरहेका छन् ।’ 

अधिवेशन गराउने मुख्य काम लिएर बनेको संगठन कमिटीले सात महिना बित्न लागिसक्दासम्म पनि अधिवेशन मिति तोक्न सुरसारसम्म गरेको छैन ।

संगठन कमिटीका सचिव रबिन थापाले अधिवेशन मिति अहिलेसम्म नतोकिएको स्वीकार गरे । ‘आउँदो फागुनभरीमा अधिवेशन गर्ने भन्ने योजनामा हामी छौं’, थापाले भने ‘तर, मिति नै तोकिएको भने छैन । आठ-दश दिनपछि बैठक बसेर मिति तोक्ने तयारी छ ।’ 

एमाले विधानअनुसार जिल्ला कमिटीले सामान्यतया हरेक तीन वर्षमा जिल्ला अधिवेशनको आयोजना गर्ने उल्लेख छ । जसअनुसार गएको जेठमै एमाले मोरङ अधिवेशन हुनुपथ्र्यो । कोशी प्रदेशमा मोरङबाहेक सबै जिल्ला कमिटी निर्वाचित कमिटीको हातमा पुगिसकेको छ । तर, मोरङमा भने आफू इतर पक्षलाई नेतृत्वमा पुग्न नदिनकै लागि अधिवेशन मिति नतोकिएको एमाले स्रोतको भनाइ छ ।

मोरङ एमालेको संगठनमा विनोद ढकाल पक्ष बलियो मानिन्छ । यद्यपि उनी पक्षका नेताहरूलाई भने विभिन्न बहानामा जिम्मेवारी खोसिँदै गएको र अधिवेशनमा रोक्ने नियत राखिएको उनी निकट नेताहरू बताउँछन् । भीम रावलदेखि विन्दा पाण्डे तहसम्मका नेताहरूले लेखे–बोलेकै आधारमा कारबाही गरिएको भन्दै खुलेर बोल्न एमाले नेताहरू मान्दैनन् । 

अधिवेशनको मिति तोक्न संगठन कमिटीले ढिलाइ गरे पनि पार्टीको जिल्ला अध्यक्ष बन्न चाहने नेताहरूले भने मोरङमा दौडधुप सुरु गरिसकेका छन् ।

अहिले संगठन कमिटीको अध्यक्ष रहेका बाबुराम कार्की संस्थापन पक्षले अब पनि आफैलाई अध्यक्षमा अघि सार्ने पक्का भएको भन्दै नेतृत्व ताकिरहेका छन् । उता ढकाल पक्षबाट भने महेश भट्टराई, अजम्बर राई र सागर थापा लगायतका नेताहरू जिल्ला अध्यक्ष पद ताकिरहेका छन् ।

त्यसो त कुनै बेला एमाले मोरङका पूर्वअध्यक्षसमेत रहेका  ढकालका निकट भनिएका बाबुराम कार्कीलाई ढकालसँग सम्बन्ध टुटाउने शर्तमा अध्यक्ष मनोनित गरिएको एमाले स्रोतको भनाइ छ ।

View : 143

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved