Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

व्यापार संघका संस्थापकहरु बीच भेटघाट तथा छलफल

उद्‌घोष संवाददाता
६ फागुन २०८२, बुधवार

विराटनगर । मोरङ उद्योग व्यापार संघ र चितवन उद्योग वाणिज्य संघका पदाधिकारीहरुले विराटनगरमा भेटघाट गरी छलफल गरेका छन् । 

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको नेतृत्वको टोलीले मंगलबार विराटनगर आएका चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी नेतृत्वको टोलीलाई संघमा स्वागत गरी छलफल गरेको हो ।

सो अवसरमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले मोरङ उद्योग व्यापार संघ र चितवन उद्योग वाणिज्य संघ दुवै संघ नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक संघहरु रहेको र निजी क्षेत्रको इतिहासदेखि नै दुवै संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । 

उनले दुवै संघका साझा एजेन्डाका विषयहरुमा ऐक्यवद्धताका लागि जोड दिनुका साथै दुवै संघबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउने, निजी क्षेत्र बीचको सहकार्य र आपसी सम्बन्ध सुदृढीकरण, व्यापार प्रवद्र्धन तथा क्षमता अभिवृद्धि कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए । 

यसैगरी संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले नेपालको समसामयिक आर्थिक अवस्था, राजनीतिक परिस्थिति, लगानीको वातावरण, निजी क्षेत्रले भोगिरहेका चुनौतीहरु तथा सुधारका सम्भावनाबारे विस्तृत छलफल गर्दै मुलुकको विद्यमान अवस्था सुदृढीकरणका लागि निजी क्षेत्रबाटै ठोस कदम चालिनुपर्ने बताएका थिए । 

उनले निजीक्षेत्रका राष्ट्रियस्तरका एजेन्डा र नीतिहरुको सुधार, जिल्ला, नगर उद्योग वाणिज्य संघहरु बीच अभ प्रभावकारी सहकार्य लगायतका विषयहरुलाई सम्बोधन गराउन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अझ सशक्त रुपमा अघि बढ्नुपर्ने उल्लेख गरे ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले मोरङ उद्योग व्यापार संघले निजी क्षेत्रका समस्याहरुको समाधानका लागि विगतदेखि खेल्दै आएको नेतृत्वदायी भूमिका प्रशंसनीय र उपलब्धीमुलक रहेको बताए ।

उनले दुवै संघ बीचको आपसी सहकार्यलाई निरन्तरता दिदै उद्योग, व्यापार तथा उद्यमशीलताको दिगो विकासका लागि संयुक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

View : 44

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved