Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना हुँदा को-पाइलटसहित सात यात्रु घाइते

उद्‌घोष संवाददाता
१९ पुष २०८२, शनिवार

झापा । भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे बुद्ध एयरको 9N-AMF कलसाइनको जहाज दुर्घटना भएको छ । विमानस्थलमा ल्याण्ड गर्ने क्रममा धावनमार्गमा जहाज चिप्लिएर दुर्घटना हुँदा चालक दलका को-पाइलटसहित सात यात्रु घाइते भएका छन् ।

काठमाडौंँबाट भद्रपुरका लागि उडेको उडान नम्बर ९०१ को एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले बताए ।

उक्त जहाजमा ५१ जना यात्रु, चालक दलका चार जना सदस्य र जहाजकै एक इन्जिनियर थिए ।

तीमध्ये ललितपुर–४ निवासी को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य छ जना यात्री घाइते भएका हुन् । 

घाइतेहरुमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौँ–१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्याएको थियो ।

टाउको र अनुहारमा चोट लागेका को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ । अन्य छ जना घाइते सामान्य उपचारपछि ’डिस्चार्ज’ भएर घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बुले जानकारी दिए ।

उक्त जहाज काठमाडौँबाट भद्रपुरका लागि शुक्रवार राति ८ः२३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९ः१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको जनाइएको छ ।

जहाज दुर्घटनामा परे लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नै सबै यात्रीलाई दुर्घटना भएको जहाजबाट सकुशल बाहिर निकालेर घाइतेलाई अस्पतालमा पुर्याएको थियो ।

View : 131

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved